सल्यान। धानबालीमा विभिन्न रोगकिराको प्रकोप देखिन थालेपछि सल्यानका किसान चिन्तित बनेका छन्। जिल्लाका कालीमाटी, त्रिवेणी र छत्रेश्वरीलगायत क्षेत्रमा लगाइएको धानमा गबारो किरा, पात बेरुवा, पतेरा, फड्के तथा काँडेदार खपटे किराको समस्या देखिएको हो।
समस्या देखिएपछि कृषि विकास कार्यालय सल्यान र स्थानीय तहका कृषि शाखाले खेतमै पुगेर अनुगमन तथा किसानलाई नियन्त्रणका उपायबारे परामर्श दिन थालेका छन्।
कालीमाटी गाउँपालिका–२ र ५ का विभिन्न क्षेत्रमा किराले धानमा क्षति पुर्याउन थालेपछि प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ। कालीमाटी–२ को जैसीटाकुरा क्षेत्रमा गबारो किराले धानको तल्लो डाँठमा क्षति पुर्याएको र गुबोभित्र लार्भा देखिएपछि बोट सुक्न थालेको कृषि प्राविधिक केशव थापाले बताए।
कालीमाटी–५ तथा आसपासका क्षेत्रमा भने पात बेरुवा, पतेरा र फड्के किराको प्रकोप बढी देखिएको छ। छत्रेश्वरी गाउँपालिका–६ र ७ मा काँडेदार खपटे किराको समस्या देखिएको कृषि प्राविधिक सहायक दीपक पुनले बताए। त्रिवेणीका विभिन्न क्षेत्रमा पनि यस्ता किराको समस्या देखिएको कृषि विकास कार्यालयले जनाएको छ।
कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले समस्या बढ्दै गएमा आवश्यक विषादी र प्राविधिक सहयोग उपलब्ध गराइने बताए।
प्राविधिकहरूले धानमा थप क्षति हुन नदिन किसानलाई नियमित रूपमा खेतको अनुगमन गर्न र रोगकिराको समस्या देखिएमा तत्काल सम्बन्धित कृषि शाखामा सम्पर्क गर्न आग्रह गरेका छन्।
