एजेन्सी । अमेरिकी ट्रेजरीले दीर्घकालीन ऋणपत्रको बाइब्याक बढाउने घोषणा गरेपछि विश्वव्यापी बजारमा अस्थिरता बढ्दा सोमबार अमेरिकी डलर महिनौँयताकै न्यून विन्दुको नजिक पुगेको छ।
अमेरिकी ट्रेजरीले ३० वर्षे ऋणपत्रको प्रतिफल बढ्दै गएपछि दीर्घकालीन ऋणपत्रको बाइब्याकलाई प्रति कारोबार ४ अर्ब अमेरिकी डलरसम्म पुर्याउने घोषणा गरेको थियो। करिब ३२० खर्ब डलरको अमेरिकी ऋणपत्र बजारको तुलनामा यो रकम सानो भए पनि ट्रेजरीको हस्तक्षेपकारी संकेतले लगानीकर्तामा चिन्ता बढाएको छ।
विश्वव्यापी रूपमा दीर्घकालीन ऋणपत्रको प्रतिफल बढिरहेको अवस्थामा अमेरिकी सार्वजनिक ऋण, मुद्रास्फीति र आर्थिक वृद्धिको दृष्टिकोणले बजारमा दबाब बढाएको छ। गत साता अमेरिकी ३० वर्षे ऋणपत्रको प्रतिफल करिब दुई दशकयताकै उच्च विन्दुमा पुगेको थियो।
यसको असर विदेशी मुद्रा बजारमा समेत देखिएको छ। अस्ट्रेलियन र न्युजिल्यान्ड डलर क्रमशः ०.७१६६ र ०.५९७२ अमेरिकी डलरमा कारोबार हुँदै तीन महिनायताकै उच्च विन्दु नजिक पुगेका छन्।
युरो १.१६८० अमेरिकी डलरमा पुगेको छ भने जापानी येन प्रतिडलर १५९ को आसपासमा कायम छ। बेलायती पाउन्ड १.३६५० डलरमा कारोबार भएको छ। चिनियाँ युआन प्रतिडलर ६.७२३२ मा पुगेको छ, जुन साढे तीन वर्षयताकै बलियो विन्दु नजिक हो।
यसैबीच, अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाउने संकेत गरेपछि बजारको ध्यान त्यसतर्फ पनि केन्द्रित भएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि अहिलेसम्मकै कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। लगानीकर्ताले नयाँ प्रतिबन्धमा चीनलाई समेत समेटिने वा नसमेटिने विषयलाई नजिकबाट हेरिरहेका छन्।
अमेरिकासँगको व्यापार वार्ता भंग भएपछि क्यानडेली डलर पनि दबाबमा परेको छ। एसियाली कारोबारमा क्यानडेली डलर प्रतिडलर १.३८०७ क्यानडेली डलरमा झर्दै ०.३ प्रतिशत कमजोर भएको छ। अमेरिकाले क्यानडेली सामानमा ५० प्रतिशत भन्सार शुल्क लगाएपछि क्यानडाले पनि जवाफी शुल्क लगाएको छ।
अमेरिकी सेवा क्षेत्रमा अगस्टमा झण्डै दुई वर्षयताकै बलियो वृद्धि देखिएको तथ्यांकले भने डलरमाथिको बिक्री दबाब केही कम गरेको थियो। तर उक्त तथ्यांकले बजारमा डलरप्रतिको धारणा उल्लेख्य रूपमा सुधार्न सकेन।
डलर बिटकोइन र सुनको तुलनामा समेत कमजोर बनेको छ। अमेरिकाले ऋणपत्रको प्रतिफल नियन्त्रण गर्न थप हस्तक्षेप गरेमा त्यसको असर डलरमा पर्न सक्ने चिन्ता लगानीकर्तामा देखिएको छ।
यसैबीच, अमेरिकी फेडरल रिजर्भका अध्यक्ष केभिन वार्सले शुक्रबार वायोमिङको ज्याक्सन होलमा सम्बोधन गर्ने कार्यक्रम छ। लगानीकर्ताले उनको सम्बोधनबाट अमेरिकी ब्याजदर, ट्रेजरीको बाइब्याक र दीर्घकालीन ऋणपत्रको प्रतिफलबारे संकेत खोजिरहेका छन्।
बैंक अफ जापानका डेपुटी गभर्नर रियोजो हिमिनोको बिहीबारको सम्बोधनलाई पनि बजारले महत्व दिएको छ। आगामी नीतिगत बैठकअघि उनले ब्याजदर वृद्धिको सम्भावनाबारे कस्तो संकेत दिन्छन् भन्नेमा लगानीकर्ताको ध्यान छ।
विश्लेषकहरूका अनुसार अमेरिकी ऋणपत्र बजारमा हुने परिवर्तन डलर–येन विनिमय दरको प्रमुख चालक बन्ने भएकाले अमेरिकी दीर्घकालीन ऋणपत्रको प्रतिफल र फेडको नीतिगत संकेत आगामी दिनमा मुद्रा बजारका लागि महत्वपूर्ण रहनेछन्।
