काठमाडौं । विद्युतीय सवारीसाधनको बजार विस्तार गरिरहेको नामीले नयाँ मोडल ‘नामी बक्स’ नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आगामी नाडा अटो शो २०२६ लाई लक्षित गर्दै नयाँ मोडल ल्याउन लागेको हो ।
सन् २०२४ मा पहिलोपटक नेपालमा सार्वजनिक भएको नामी बक्स आकर्षक डिजाइन, फराकिलो केबिन, आधुनिक सुविधा र सहरी प्रयोगका लागि उपयुक्त भएकाले नेपाली बजारमा लोकप्रिय बनेको कम्पनीको दाबी छ ।
नेपालमा हालसम्म २ हजारभन्दा बढी नामी ब्रान्डका सवारीसाधन सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । नामी भिगो ई–२ सार्वजनिक गरिसकेको कम्पनीले अब नयाँ पुस्ताको नामी बक्समार्फत आफ्नो विद्युतीय सवारी पोर्टफोलियो विस्तार गर्न लागेको हो ।
नयाँ नामी बक्समा अघिल्लो संस्करणको तुलनामा परिष्कृत डिजाइन, थप सुविधा र नयाँ प्रविधि रहने अपेक्षा गरिएको छ । कम्पनीले भने नयाँ मोडलको प्राविधिक विवरण, रेन्ज, फिचर्स र मूल्य सार्वजनिक गरेको छैन ।
यी सबै विवरण नाडा अटो शो २०२६ को अवसरमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ । नयाँ मोडलको आगमनसँगै कम्प्याक्ट विद्युतीय सवारीको बजारमा प्रतिस्पर्धा थप बढ्ने अपेक्षा गरिएको छ।
