काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन गर्दै सचेत गराइएका वा नसिहत पाएका व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न पाउने व्यवस्था गर्न लागेको छ।
सोमबार अर्थ समितिको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाफियाको दफा १८ को उपदफा (१) को खण्ड ‘ड’ संशोधनको तयारी भइरहेको जानकारी दिए।
हालको व्यवस्थाअनुसार नियमनकारी निकायबाट कानुनविपरीत काम गरेको भन्दै कारबाहीमा परेका वा कारबाही भएको पाँच वर्ष पूरा नभएका व्यक्ति बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न पाउँदैनन्।
सरकारले संशोधनमार्फत ‘तर सचेत गराइएको वा नसिहत पाएको व्यक्तिको हकमा यो खण्ड लागू हुनेछैन’ भन्ने व्यवस्था थप गर्न लागेको हो।
मन्त्री वाग्लेका अनुसार यसका लागि छुट्टै बाफिया संशोधन विधेयक आवश्यक पर्ने छैन। ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ मार्फत नै व्यवस्था संशोधन गर्न लागिएको उनले बताए। अर्थ मन्त्रालयले प्रस्ताव स्वीकृत गरी कानुन मन्त्रालयमा पठाइसकेको जानकारीसमेत उनले दिए।
राष्ट्र बैंक ऐनमा मात्रै व्यवस्था गर्दा प्रभावकारी नहुने भएकाले बाफियामै स्पष्ट व्यवस्था आवश्यक रहेको मन्त्री वाग्लेले बताए। यस विषयमा थप छलफलका लागि उनले अर्थ समितिसँग कम्तीमा २४ घण्टाको समयसमेत माग गरेका छन्।
प्रस्तावित संशोधन कार्यान्वयन भए सामान्य विभागीय कारबाहीअन्तर्गत सचेत गराइएका वा नसिहत पाएका व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न कानुनी बाटो खुल्नेछ।
