काठमाडौं। प्रभु बैंक लिमिटेडकी तत्कालीन चिफ बिजनेस अफिसर रश्मी पन्तले रूपन्देहीमा पाँचतारे रिसोर्ट निर्माणका लागि प्रवाह गरिएको कर्जा दुरुपयोग प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गरेकी छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई दिएको बयानमा पन्तले कर्जा टिप्पणीमा उल्लेख भएअनुसार ऋणीको खाताबाट प्रस्तावित जग्गाधनीको खातामा जग्गा खरिद प्रयोजनका लागि रकम भुक्तानी भएको दाबी गरेकी छन्।
उनले उक्त कर्जा दुरुपयोग नभएको र कर्जा स्वीकृति तथा रकम प्रवाहसम्बन्धी सम्पूर्ण प्रक्रिया बैंकको प्रचलित नीति, नियम र कर्जा निर्देशिकाअनुसार भएको जिकिर गरेकी छन्। बैंकको कुनै प्रावधान भूलवश पालना नभएको भए पनि त्यसलाई बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गतको कसुरका रूपमा नभई नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सम्बोधन गरिनुपर्ने उनको बयान छ।
पन्तका अनुसार प्रस्तावित जग्गाधनीको खातामा रकम जम्मा भएपछि भएका कारोबारका लागि सम्बन्धित ऋणी नै जिम्मेवार हुने भएकाले कर्जाको सुरक्षणस्वरूप राखिएको जग्गा रोक्का अझै कायम छ।
उनले आफूले बैंकको नीति तथा नियम, ऋण नीति, निर्देशिका र आचारसंहिताका साथै आफ्नो पदसँग सम्बन्धित जिम्मेवारीभित्र रहेर काम गरेको बताएकी छन्। ‘ऋणीको प्रभावमा परेर वा आर्थिक लाभ, दान वा उपहार लिएर काम गरेको होइन। मैले नियमानुसार आफ्नो जिम्मेवारीअनुसारको काम गरेको हुँ,’ पन्तले बयानमा भनेकी छन्। यस्तो छ पन्तले सीआइबीमा दिएको बयानः
एशियन भिलेज रिसोर्ट प्रा.लि.का तत्कालीन अध्यक्ष शिशिर पौड्याल तथा हालका अध्यक्ष शशिधर शर्मासँग मेरो व्यक्तिगत चिनजान वा कुनै किसिमको लेनदेन रहेको छैन। निज शशिधर शर्मालाई मैले कर्जाको सिलसिलामा प्रधान कार्यालयमा आउँदा चिनेको हुँ। निजहरूसँग मेरो कुनै साझेदारी वा सामूहिक लगानीसमेत रहेको छैन।
प्रभु बैंक लि.को ‘चिफ बिजनेश अफिसर’ का रूपमा मेरो मुख्य जिम्मेवारी बैंकका लागि ‘बिजनेश’ खोज्ने, विशेषगरी बैंकका सम्भावित ‘कस्टमर’ हरू खोजी गर्ने, मिटिङ गर्ने, ‘कस्टमर’ सँग कुराकानी गरेपछि ‘क्रेडिट चेन’ मा ल्याउने, कर्जा तथा ‘डिजिटल सेल्स’ का सम्बन्धमा शाखाहरूसँग समन्वय गर्ने, कर्जाहरू नियमित गराउनेलगायतका काम तथा जिम्मेवारीहरू थिए।
‘चिफ बिजनेश अफिसर’ रहँदा कर्जा स्वीकृति गर्ने अख्तियारी समय–समयमा प्रमुख कार्यकारी अधिकृतको निर्णयअनुसार परिवर्तन भइरहन्थ्यो। अन्तिम समयमा अधिकतम रु. ५०,००,००,०००।– (पचास करोड) सम्मको कर्जा स्वीकृत गर्ने अख्तियारी मसँग रहेको थियो।
शाखाबाट उठेका कर्जाहरू शाखाका ‘रिलेशनसिप म्यानेजर’ मार्फत शाखा प्रमुख हुँदै प्रदेश प्रमुखसमक्ष आउने गर्दथे। प्रदेश प्रमुखमार्फत प्रधान कार्यालयका ‘रिस्क एनालिस्ट’, ‘क्रेडिट म्यानेजर’, ‘चिफ क्रेडिट अफिसर’ र ‘चिफ बिजनेश अफिसर’ हुँदै प्रमुख कार्यकारी अधिकृतसमक्ष पेश हुने गर्दथे। प्रमुख कार्यकारी अधिकृतको स्वीकृति सीमाभित्रको भए प्रमुख कार्यकारी अधिकृतबाट स्वीकृत हुने र प्रमुख कार्यकारी अधिकृतको स्वीकृति सीमाभन्दा माथि भए सञ्चालक समितिसमक्ष पेश हुने गर्दथ्यो।
प्रधान कार्यालयको ‘डिपार्टमेन्ट’ बाट उठान भएका कर्जाहरू सम्बन्धित ‘डिपार्टमेन्ट’ का ‘रिलेशनसिप म्यानेजर’ बाट उठान भई विभागीय प्रमुख हुँदै ‘रिस्क एनालिस्ट’, ‘क्रेडिट म्यानेजर’, ‘कन्ट्री हेड रिटेल लोन’, ‘चिफ क्रेडिट अफिसर’ र ‘चिफ बिजनेश अफिसर’ हुँदै प्रमुख कार्यकारी अधिकृतसमक्ष पेश हुने गर्दथे। प्रमुख कार्यकारी अधिकृतको स्वीकृति सीमाभन्दा माथिको कर्जा सञ्चालक समितिबाट स्वीकृत हुने गर्दछ।
कर्जा उठान गर्नेले कर्जाको ‘एनालाइसिस’ गर्ने, कर्जा दिनका लागि उपयुक्त लागेमा आवश्यक कागजातहरू संकलन गरी आवश्यक प्रक्रिया सुरु गर्ने र शाखा प्रबन्धक वा विभागीय प्रमुखसमक्ष पठाउने गर्दथे। विभागीय प्रमुखले ‘रिभ्यु’ गरी आफ्नो अख्तियारीभित्र पर्ने भएमा स्वीकृत गर्ने र स्वीकृति सीमाभन्दा बाहिर भएमा अगाडि बढाउने गर्दथे।
‘रिस्क एनालिस्ट’ तथा ‘क्रेडिट म्यानेजर’ ले कर्जा फाइलमा भएका ‘रिस्क’ हरू उल्लेख गरी कागजात नपुगेमा संकलन गर्न सुझाव दिने गर्दथे। ‘चिफ क्रेडिट म्यानेजर’ ले ‘रिभ्यु’ गर्ने, शाखा वा ‘डिपार्टमेन्ट’ लाई आवश्यक निर्देशन दिने, अपुग कागजात माग गर्ने, ‘बिजनेश’ को ‘मनिटर’ गर्ने लगायतका कार्य गर्दथे।
प्रभु बैंक लि.बाट एशियन भिलेज रिसोर्ट प्रा.लि. (तत्कालीन अध्यक्ष शिशिर पौड्याल) लाई मिति सन् १३/१०/२०२३ मा ‘ब्रिज ग्याप लोन (बीजीएल)’ रु. १३,००,००,०००।– (तेह्र करोड) र आवधिक कर्जा रु. ४८,००,००,०००।– (अड्चालिस करोड) बाहेक निज शशिधर शर्मा तथा निजको एउटै समूहमा रहेका कम्पनीहरूको नाममा अन्य के–कति कर्जा प्रवाह भएको थियो भन्ने सम्बन्धमा मलाई हाल यकिन छैन।
एशियन भिलेज रिसोर्ट प्रा.लि.को नाममा आवधिक कर्जा रु. ४८,००,००,०००।– (अड्चालिस करोड) प्रवाह गर्नका लागि प्रभु बैंक लि.बाट सन् ०४/१२/२०२४ मा तयार भएको कर्जा टिप्पणी ‘क्रेडिट एप्रेजल’ मा ‘चिफ बिजनेश अफिसर रश्मी पन्त’ भनी गरिएको दस्तखत मेरो आफ्नै हो। हेरी, चिनी तथा सनाखतसमेत गरिदिएँ।
एशियन भिलेज रिसोर्ट प्रा.लि.को नाममा प्रवाह भएको आवधिक कर्जा रु. ४८,००,००,०००।– (अड्चालिस करोड) को कर्जा फाइल प्रभु बैंक लि.को मणिग्राम शाखाबाट उठान भएको कर्जा फाइल हो। उक्त कर्जा फाइल मणिग्राम शाखाका ‘रिलेशनसिप म्यानेजर’ राजेन्द्र श्रेष्ठबाट उठान भई शाखा प्रबन्धक सन्तोष ज्ञवालीले सिफारिस गरी प्रधान कार्यालयका ‘रिस्क एनालिस्ट’ एन्जल शर्मा र ‘क्रेडिट म्यानेजर’ शैलेन्द्र डंगोलले ‘रिभ्यु’ तथा ‘सपोर्ट’ गरी प्रदेश प्रमुख दिपेन्द्र बाबु बिष्टसमक्ष पठाएका थिए। दिपेन्द्र बाबु बिष्टले ‘सपोर्ट’ गरी ‘चिफ क्रेडिट अफिसर’ ऋवश श्रेष्ठसमक्ष पठाएको र ऋवश श्रेष्ठले ‘सपोर्ट’ गरी मसमक्ष पठाएकोमा मैले ‘चिफ बिजनेश अफिसर’ का रूपमा ‘सपोर्ट’ गरी प्रमुख कार्यकारी अधिकृतसमक्ष पठाएकोमा प्रमुख कार्यकारी अधिकृतबाट स्वीकृत भएको हो।
एशियन भिलेज रिसोर्ट प्रा.लि.को नाममा प्रवाह भएको आवधिक कर्जा रु. ४८,००,००,०००।– (अड्चालिस करोड) एशियन भिलेज रिसोर्टलाई मायादेवी गा.पा.–४, रुपन्देहीमा रिसोर्ट निर्माणका लागि आवश्यक पर्ने जग्गा खरिद गर्ने प्रयोजनका लागि प्रवाह गरिएको थियो।
उक्त कर्जामा एशियन भिलेज रिसोर्ट प्रा.लि.को नाममा रहेका केही जग्गाहरू बैंकको नाममा दृष्टिबन्धक रोक्का राखिएको थियो। निज शिशिर पौड्यालले उक्त एशियन भिलेज रिसोर्ट प्रा.लि.को नाममा जग्गाहरू आएपछि बैंकको नाममा रोक्का राख्ने भनी कबुलियतनामा गरेका थिए। सोबाहेक सुरक्षणका लागि अन्य धितोहरू बैंकको नाममा दृष्टिबन्धक रहेको थियो। निजको व्यक्तिगत जमानीसमेत रहेको थियो।
पछि कबुलियतनामाअनुसार समयमा बैंकको नाममा जग्गा दृष्टिबन्धक नभएपछि बैंकले ठाडो रोक्का राखी कर्जाको सुरक्षण गरेको हो। उक्त कर्जाबापतको रकम के–कसलाई र के–कसरी भुक्तानी दिने भनी उल्लेख भएको सम्बन्धमा लामो समय भएको कारण हाल मलाई याद भएन। रकम ‘डिस्बर्समेन्ट’ गर्ने कार्य मेरो जिम्मेवारीअन्तर्गत नपर्ने भएकाले मलाई थाहा भएन।
एशियन भिलेज रिसोर्ट प्रा.लि.को आवधिक कर्जा रु. ४८,००,००,०००।– (अड्चालिस करोड) प्रवाह गर्नका लागि तयार भएको कर्जा टिप्पणी ‘क्रेडिट एप्रेजल’ मा एशियन भिलेज रिसोर्ट प्रा.लि.को नाममा जग्गा खरिद गर्नका लागि ‘प्रि–डिस्बर्समेन्ट’ गर्ने भनी उल्लेख रहेको थियो। कर्जा टिप्पणीमा औंल्याएका सबै कुरालाई ‘सपोर्ट’ गरी स्वीकृतिका लागि सिफारिस गरेको हुँ।
उक्त कर्जा टिप्पणीमा औंल्याइएका कुराहरू कर्जा स्वीकृतिपश्चात् पनि अवलम्बन गरी कार्यान्वयन गर्ने गरिन्छ। साथै, केही ‘डिभिएसन’ भएमा सोहीअनुसार सम्बन्धित शाखा वा विभागले प्रस्ताव गरी अख्तियारप्राप्त अधिकारीको स्वीकृति लिई कार्यान्वयन गर्ने गरिन्छ।
मणिग्राम शाखाका ‘रिलेशनसिप म्यानेजर’ राजेन्द्र श्रेष्ठले मिति सन् १२/०२/२०२५ को इमेलमार्फत प्रस्ताव गरी म प्रमुख व्यवसाय अधिकृतले ‘सपोर्ट’ तथा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतले स्वीकृत गरेको हो।
यसअघि स्वीकृत कर्जा टिप्पणीमा एशियन भिलेज रिसोर्ट प्रा.लि.ले जग्गा खरिद गरेपश्चात् उक्त प्रा.लि.को नाममा कायम हुन आउने जग्गाहरू बैंकको नाममा दृष्टिबन्धक भएपछि मात्र स्वीकृत आवधिक कर्जा निकासा/प्रवाह गर्ने उल्लेख भए तापनि तत्कालका लागि कर्जा टिप्पणीमा उल्लिखित जग्गाहरू बैंकको नाममा दृष्टिबन्धक हुनुअगावै धितोका रूपमा कायम रहने जग्गाको ‘फेयर मार्केट भ्यालु’ को ५० प्रतिशत रकम मात्र ‘प्रि–डिस्बर्समेन्ट’ गरिदिने भनी निर्णय भएको थियो।
एशियन भिलेज रिसोर्ट प्रा.लि.का लागि जग्गा खरिद गर्न भनी कर्जा स्वीकृत भइसकेको, ऋणीले जग्गा खरिद गर्नका लागि अग्रिम भुक्तानी दिनुपर्ने भनी अनुरोध गरेको र सम्बन्धित शाखाबाट समेत सोहीअनुसार अनुरोध भएकाले ऋणीले उक्त रकमबाट जग्गा खरिद गरी बैंकको नाममा दृष्टिबन्धक गरिदिने भनेको हुँदा सोहीअनुसार उक्त इमेललाई ‘सपोर्ट’ गरी प्रमुख कार्यकारी अधिकृतसमक्ष पेश गरेको हुँ।
ऋणीको कर्जा फाइल मणिग्राम शाखाबाट उठान भएको र ऋणीको ‘प्रोजेक्ट’ समेत सोही क्षेत्रमा भएको हुँदा उक्त कर्जा फाइल प्रधान कार्यालयको ‘प्रोजेक्ट फाइनान्सिङ डिपार्टमेन्ट’ बाट बैंकको मणिग्राम शाखामा स्थानान्तरण गरिदिने भनिएको हो।
ऋणीको हाल बक्यौता रहेको रु. १३ करोडको ‘ब्रिज ग्याप लोन’ को कर्जा भाखा नाघेता पनि नयाँ आवधिक कर्जा निकासा/प्रवाहका लागि स्वीकृति प्रदान गर्ने भन्ने सम्बन्धमा ‘ब्रिज ग्याप लोन’ का लागि ताकेता गरिएको थियो। उक्त आवधिक कर्जा प्रवाह नगरिएमा ‘प्रोजेक्ट’ नै धराशायी भई पहिलेको ‘ब्रिज ग्याप लोन’ समेत बिग्रिने भएको हुँदा सो प्रस्तावलाई ‘सपोर्ट’ गरेको हुँ।
सन् १२/०२/२०२५ मा मणिग्राम शाखाका ‘रिलेशनसिप म्यानेजर’ राजेन्द्र श्रेष्ठले इमेलमार्फत प्रस्ताव गरी प्रमुख व्यवसाय अधिकृतको हैसियतले मैले ‘सपोर्ट’ तथा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतले स्वीकृत गरेको इमेल देखाउँदा देखें। उक्त इमेलमा ‘सपोर्टेड बाइ’ भनी गरिएको दस्तखत मेरो आफ्नै हो। हेरी, चिनी तथा सनाखत गरी दिएँ। साथै, उक्त इमेलमा ‘अप्रुभ्ड बाइ’ भनी गरिएको दस्तखत तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको हो।
एशियन भिलेज रिसोर्ट प्रा.लि.ले रिसोर्टका लागि जग्गा खरिद गर्ने भनी कर्जा माग गरेको र उक्त जग्गा खरिद गर्नका लागि रकम आवश्यक परेको तथा उक्त रकम प्रवाहपश्चात् जग्गा एशियन भिलेज रिसोर्ट प्रा.लि.को नाममा ल्याई बैंकको नाममा दृष्टिबन्धक गरिदिने भनी अनुरोध गरेपश्चात् सोहीअनुसार सम्बन्धित शाखाबाट इमेलमार्फत अनुरोध गरिएको थियो। त्यसपछि जग्गा ऋणीको नाममा ल्याई बैंकको नाममा दृष्टिबन्धक गर्नका लागि उक्त रकम ‘डिस्बर्समेन्ट’ गरिएको हो।
प्रभु बैंक लिमिटेडको मणिग्राम शाखाका ‘रिलेशनसिप म्यानेजर’ (कर्जा अधिकृत) ले मिति सन् १०/०३/२०२५ मा शाखा प्रमुख सन्तोष ज्ञवालीलाई र शाखा प्रमुख सन्तोष ज्ञवालीले मलाई, प्रमुख व्यवसाय अधिकृतलाई सम्बोधन गर्दै स्वीकृत रु. ४८ करोडमध्ये रु. ३१ करोड निकासा/प्रवाह भइसकेको र हालको निवेदनबमोजिम ऋणीले प्रस्तावित जग्गा खरिदका लागि जग्गाधनीसँग बैना कागज गरेकोले ऋणीलाई बाँकी रहेको रु. १७ करोड कर्जा पनि निकासा/प्रवाह गर्ने स्वीकृतिका लागि निवेदन/सिफारिस गरेका थिए।
सम्बन्धित शाखाबाट जग्गाधनीलाई रकम दिनका लागि रकम प्रवाह गरिदिने भनी अनुरोध आएको हुँदा जग्गाधनीलाई रकम दिई जग्गा ऋणीको नाममा ल्याई बैंकको नाममा दृष्टिबन्धक हुने भनी उक्त रकम प्रवाह भएको हो।
यसअघि प्रवाह भएको रु. ३१ करोड रकमसमेत निज शशिधर शर्माले जग्गा खरिदका लागि प्रयोग गरेका थिए। सो जग्गा खरिद गरेपश्चात् उक्त रकम के–कहाँ गयो भन्ने सम्बन्धमा हामीलाई जानकारी हुँदैन।
मिति सन् १०/०३/२०२५ मा मणिग्राम शाखाका शाखा प्रबन्धक सन्तोष ज्ञवालीले मलाई, प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तलाई सम्बोधन गर्दै लेखेको माथि उल्लेखित इमेलको प्रतिलिपि देखाउँदा देखें। उक्त इमेलमा भएको दस्तखतमध्ये बाँया पट्टिको दस्तखत मेरो आफ्नै हो भने दाहिने पट्टिको दस्तखत तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको हो। हेरी, चिनी तथा सनाखतसमेत गरिदिएँ।
सम्बन्धित धनीले हस्तान्तरण गरी कम्पनीमा ल्याइसकेको र हस्तान्तरण गरेपश्चात्का कम्पनीका धनी शशिधर शर्माले बैंकबाट लिएको कर्जा नियमित गर्ने भनी कम्पनीको सञ्चालक समितिको निर्णय बैंकसमक्ष पेश गरेको हुँदा बैंकले इमेलमार्फत स्वीकृत गरेको हो।
साथै, ऋणीले बैंकलाई थाहा नदिई कम्पनी हस्तान्तरण गरेको हुँदा उक्त कर्जा अन्य बैंकमा सार्नका लागि मौखिक रूपमा बारम्बार अनुरोध गरिएको थियो।
कुनै पनि बैंकको नीति तथा नियममा केही आंशिक कुराहरू पूरा नभएको अवस्थामा प्रमुख कार्यकारी अधिकृतले नेपाल राष्ट्र बैंकको निर्देशनको अधीनमा रही सामान्य कुराहरू फेरबदल गरी कार्यान्वयन गर्न सक्ने अधिकार प्रत्यायोजन गरेको हुँदा उक्त ‘प्रि–डिस्बर्समेन्ट’ समेत बैंकको नीति तथा नियमभित्र मैले ‘सपोर्ट’ गरी प्रमुख कार्यकारी अधिकृतले स्वीकृत गर्नुभएको हो।
‘सीएमएस (क्रेडिट म्यानेजमेन्ट सिस्टम)’ बैंकले ‘क्रेडिट प्रोसेसिङ’ का लागि प्रचलनमा ल्याएको ‘सफ्टवेयर’ हो। सो समयमा यो पूर्ण रूपमा सञ्चालनमा आइसकेको थिएन। ठूला–ठूला कर्जाका फाइलहरू ‘सीएमएस (क्रेडिट म्यानेजमेन्ट सिस्टम)’ बाट नभई ‘म्यानुअली/फिजिकली’ ‘प्रोसेस’ गरिन्थे। सोही कारण उक्त कर्जाको ‘प्रि–डिस्बर्समेन्ट’ समेत इमेलमार्फत आएको हो।
प्रभु बैंक लि.को ‘क्रेडिट पोलिसी गाइडलाइन्स’ को ‘वेभर, रिभ्यु, रिपिल एण्ड सेभिङ्स’ अन्तर्गत उक्त कुरा उल्लेख रहेको छ।
उल्लेखित कर्जामा सुरक्षणका लागि राखिने जग्गाहरू बैंकको नाममा दृष्टिबन्धक राख्ने भनी उल्लेख रहेको थियो। तर तोकिएको समयावधिसम्म पनि ऋणीको नाममा जग्गा नामसारी नगरिएको हुँदा बैंकले माथि उल्लेखित कित्ताहरू सुरक्षणका लागि ठाडो रोक्का राखेको हो।
उक्त कर्जा ठाडो रोक्काको आधारमा मात्र दिइएको होइन। कर्जा स्वीकृतिपश्चात् कर्जा फाइल सम्बन्धित मणिग्राम शाखामा गई मणिग्राम शाखाले रोक्का राख्ने काम गरेको हुँदा सो सम्बन्धमा मलाई यकिन भएन।
माथि उल्लेखित जग्गाहरू दृष्टिबन्धक तथा ठाडो रोक्का समेत नहुनुको कारण शशिधर शर्माको नामबाट केही जग्गाहरू कित्ताकाट भई ऋणी एशियन भिलेज रिसोर्टको नाममा गएकोमा ऋणीको नाममा गएका जग्गाहरू ठाडो रोक्का भइसकेका थिए।
बुटवल हाउजिङ प्रा.लि.को नाममा रहेका जग्गाहरू प्रधान कार्यालयबाट पुरानो कर्जाका लागि रोक्का रहेको कारण प्रधान कार्यालयले तत्काल फुकुवा नगर्ने भएको हुँदा रोक्का नगरिएको हो। म बैंकमा कार्यरत रहँदासम्म उक्त जग्गाहरू प्रधान कार्यालयबाट रोक्का यथावत् रहेका थिए।
बैंकको ‘क्रेडिट पोलिसी’ अनुसार धितो रोक्का नराखिएको अवस्थामा पछि रोक्का भई समर्थन हुने गरी ‘प्रि–डिस्बर्समेन्ट’ गर्ने रकमको सीमा कर्जा स्वीकृत गर्ने अख्तियारप्राप्त अधिकारीको कर्जा स्वीकृति सीमाअनुसारको रहेको थियो।
अन्य कुनै धितो नरहेको अवस्थामा ठाडो रोक्का मात्रै राखिदिनुपर्ने कर्जाको हकमा रु. १०,००,०००।– (दश लाख) सम्म मात्र प्रवाह गर्न मिल्छ।
मिति सन् २०८१/१०/०४ मा प्रस्ताव गरी ऋणीले मिति २०८१/११/०२ मा स्वीकार गरेको कर्जा सुविधा प्रस्तावपत्र ‘अफर लेटर’ मा उल्लेख गरेबमोजिम ऋणीले कम्पनीको नाममा जग्गा नल्याई बैंकको नाममा दृष्टिबन्धक हुन नसकेको कारण धितो सुरक्षणका लागि कम्पनीका जग्गाहरू ठाडो रोक्का राख्नका लागि कर्जा सुविधा प्रस्तावपत्र ‘अफर लेटर’ मा संशोधन गरिएको हो।
सो समयमा मालपोत कार्यालयले बैंकको अनुरोधमा मात्र ठाडो रोक्का नराख्ने भएकाले कम्पनीको पत्रबाट बैंकको नाममा रोक्का राख्ने संशोधन गरिएको हो। मैले २०८२ सालको मंसिर महिनादेखि बैंक छोडिसकेको हुँदा सो सम्बन्धमा मलाई जानकारी भएन। उक्त कर्जा बैंकको नीति तथा नियमअनुसार प्रवाह भएको थियो। मैले बैंक छोड्दासम्म ऋणीले कर्जाको किस्ता तिरिरहेका थिए।
एशियन भिलेज रिसोर्ट प्रा.लि.को नाममा प्रवाह भएको रु. ४८,००,००,०००।– (अड्चालिस करोड) को आवधिक कर्जा प्रभु बैंकको कर्जा नीतिअन्तर्गत रही प्रवाह भएको हो। नेपाल राष्ट्र बैंकबाट गठित समितिले के–कुन आधारमा उक्त कर्जामा ‘प्रि–डिस्बर्समेन्ट’ गर्न मिल्दैन भनी खुलाएका हुन्, सो सम्बन्धमा मलाई थाहा भएन।
बैंकको ‘कोल्याटेरल म्यानेजमेन्ट म्यानुअल, २०१६ (थर्ड एमेन्डमेन्ट, २०२४)’ मा दृष्टिबन्धक रोक्का नराखी कुनै विशेष कारणवश धितोका रूपमा कायम रहने जग्गाहरू बैंकको नाममा दृष्टिबन्धक हुन नसकेमा दृष्टिबन्धक अगावै ‘प्रि–डिस्बर्समेन्ट’ गर्न सकिने व्यवस्था समेत उल्लेख रहेको छ।
साथै, प्रभु बैंक लि.को ‘क्रेडिट पोलिसी गाइडलाइन्स’ को ‘वेभर, रिभ्यु, रिपिल एण्ड सेभिङ्स’ अन्तर्गत प्रमुख कार्यकारी अधिकृतले छुट तथा परिवर्तन गर्न सक्ने भनी प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गरेको हुँदा मैले ‘सपोर्ट’ गरी प्रमुख कार्यकारी अधिकृतसमक्ष पेश गरेकोमा प्रमुख कार्यकारी अधिकृतबाट आफ्नो स्वीकृति सीमाभित्र रही ‘प्रि–डिस्बर्समेन्ट’ गरिएको हो।
एशियन भिलेज रिसोर्ट प्रा.लि.को ‘साइट’ मणिग्राम शाखाबाट पायक पर्ने, ‘बिजनेश भिजिट’ गर्न सजिलो हुने तथा नजिकको शाखा भएको हुँदा ‘साइट’ को ‘प्रोग्रेस’ सम्बन्धमा जानकारी भइराख्ने र ऋणीसमेत स्थानीय भएको हुँदा निजको ‘प्रोफाइल’ समेत थाहा हुने भएकाले मणिग्राम शाखामा उक्त आवधिक कर्जा रु. ४८ करोडको कर्जा फाइल पठाइएको हो।
फाइल ‘फरवार्ड’ गर्न मैले दबाब दिएको छैन। मैले मणिग्राम शाखाका शाखा प्रमुख र ‘रिलेशनसिप म्यानेजर’ समेतलाई सन् १० मार्च २०२४ का दिन सम्पूर्ण ‘कमेण्ट’ हटाई ‘सीएमएस नम्बर’ राखी दोस्रो ‘प्रि–डिस्बर्समेन्ट’ का लागि ‘इमेल’ गर्न दबाब दिएको छैन।
शाखा प्रबन्धक सन्तोष ज्ञवालीसँग उक्त ‘प्रोजेक्ट’ का सम्बन्धमा धितो राखिने जग्गाहरू रोक्का भयो, भएन, रोक्का नहुनुको कारण के हो, रोक्का कहिलेसम्म हुन्छ, यसबारेमा ऋणीसँग कुराकानी भयो कि भएन भनी सोधेको हुँ। निजलाई उक्त इमेल ‘फरवार्ड’ गर्न दबाब दिएको होइन।
मैले मणिग्राम शाखालाई उक्त कर्जाको ‘प्रि–डिस्बर्समेन्ट’ गर्ने सम्बन्धमा इमेल गर्नका लागि कुनै ताकेता तथा निर्देशन दिएको छैन।
म प्रमुख व्यवसाय अधिकृत अर्थात् ‘सीबीओ’ रहँदा मेरो कार्यालयमा एक जना सहयोगी कर्मचारी मात्र रहने गर्दथे। निजले फाइलिङ गर्ने तथा ‘डाटा’ हरू मिलाउने काम मात्र गर्ने गर्दथे। निजले शाखा कार्यालयहरूसँग समन्वय गर्ने काम गर्दैनथे। सो समयमा कार्यरत रहेका कर्मचारीको नाम हाल मैले बिर्सिएँ।
‘सीईओ कार्यालय’ बाट ताकेता तथा निर्देशन दिए/नदिएको सम्बन्धमा मलाई थाहा छैन। ‘सीईओ कार्यालय’ मा १०/१२ जना कर्मचारीहरू कार्यरत रहेका थिए। ऋणी एशियन भिलेज रिसोर्ट प्रा.लि.ले कर्जा प्रस्तावपत्र तथा कर्जा टिप्पणीबमोजिम रिसोर्ट निर्माणका लागि आवश्यक पर्ने जग्गाहरू निजको पारिवारिक सम्बन्ध भएका व्यक्तिहरूसँग खरिद गर्नका लागि ऋणीका खाताहरूबाट जग्गा खरिद गर्न लागिएका निजका पारिवारिक सम्बन्ध भएका व्यक्तिहरूका खातामा रकम रकमान्तर गरेको हो।
सो पश्चात् उक्त रकमहरू विभिन्न खातामा रकमान्तर गरिएको सम्बन्धमा जिम्मेवारी सम्बन्धित ऋणीको हुने गर्दछ।
कर्जा रकमको दुरुपयोग भएको वा नभएको सम्बन्धमा अनुगमन तथा निरीक्षण गर्ने जिम्मेवारी सम्बन्धित शाखा तथा सम्बन्धित प्रदेशको हुने गर्दछ। आवश्यक परेमा प्रधान कार्यालयको ‘रिस्क डिपार्टमेन्ट’ का कर्मचारीसमेत निरीक्षणमा जाने गर्दथे। ‘बिजनेश साइट भिजिट रिपोर्ट (बीएसभीआर)’ सामान्यतः सम्बन्धित शाखाले प्रत्येक तीन–तीन महिनामा गर्नुपर्ने हो। तर कार्यव्यवस्था, काबुबाहिरको परिस्थिति आदिका कारण ढिलो गरी हुने गर्दछ।
कर्जाको दुरुपयोग गर्नु हुँदैन र कर्जाको दुरुपयोग गरेमा कानूनबमोजिम कारबाही हुने गर्दछ। तर प्रस्तुत कर्जाको हकमा कर्जा टिप्पणीअनुसार ऋणीको खाताबाट प्रस्तावित जग्गाधनीको खातामा जग्गा खरिद गर्ने प्रयोजनका लागि रकम गएको हो। सो कारणले उक्त कर्जाको रकम दुरुपयोग भएको होइन।
प्रस्तावित जग्गाधनीको खातामा रकम गएपश्चात् भएका कारोबारका सम्बन्धमा सम्बन्धित ऋणी नै जिम्मेवार हुने गर्दछ।
उक्त कर्जा टिप्पणी बैंकको ‘क्रेडिट पोलिसी’ अन्तर्गत उठान भई नियमानुसार स्वीकृत भएको हो। जग्गा खरिद गर्ने उद्देश्यका लागि माग भएको कर्जामा ‘क्रेडिट पोलिसी’ ले दिएको अधिकारभित्र रही प्रमुख कार्यकारी अधिकृतले जग्गा खरिद गर्नकै लागि भनी ‘प्रि–डिस्बर्समेन्ट’ गरिएको हो।
‘प्रि–डिस्बर्समेन्ट’ भएको रकम ऋणीको खाताबाट कर्जा टिप्पणी तथा कर्जा प्रस्तावपत्रमा उल्लेखित प्रस्तावित जग्गाधनीको खातामा रकम गएको हुँदा उक्त कर्जा प्रवाह गैरकानुनी रूपमा भएको छैन।
‘सीएमएस’ प्रयोग नगरी ‘इमेल’ मार्फत प्रस्ताव तथा स्वीकृत गरिएको सम्बन्धमा ‘सीएमएस’ मा यस्ता प्रकृतिका ठूला कर्जा फाइलका थप ‘अप्रुभल’ तथा जानकारी गराइँदैनथ्यो। थप ‘अप्रुभल’ तथा जानकारी बैंकको आधिकारिक इमेलमार्फत नै गर्ने भएकाले प्रस्तुत ‘अप्रुभल’ समेत इमेलबाट गरिएको हो।
प्रस्तुत कर्जाको हकमा कर्जा टिप्पणीअनुसार ऋणीको खाताबाट प्रस्तावित जग्गाधनीको खातामा जग्गा खरिद गर्ने प्रयोजनका लागि रकम गएको हो। सो कारणले उक्त कर्जाको रकम दुरुपयोग भएको होइन।
उक्त कर्जा स्वीकृति तथा रकम प्रवाह गर्ने कार्य बैंकको प्रचलित नीति तथा नियमअनुसार नै भएको छ। यदि कुनै प्रावधानहरू भूलवश अवलम्बन नगरिएको भए बैंकिङ कसूर तथा सजाय ऐनअन्तर्गत नभई नेपाल राष्ट्र बैंकको निर्देशिकाबमोजिम हुनुपर्ने हो।
प्रस्तावित जग्गाधनीको खातामा रकम गएपश्चात् भएका कारोबारका सम्बन्धमा सम्बन्धित ऋणी नै जिम्मेवार हुने गर्दछ। हाल पनि सुरक्षणका रूपमा ठाडो रोक्का यथावत् रहेको छ। मैले बैंकको नीति तथा नियम, ‘क्रेडिट पोलिसी गाइडलाइन’, बैंकको ‘कोड अफ कन्डक्ट’ तथा आफ्नो पदकीय जिम्मेवारीभित्र रही काम गरेको छु। ऋणीको प्रभावमा परी, आर्थिक लाभ, दान वा उपहार लिएर काम गरेको होइन। मैले नियमानुसार आफ्नो जिम्मेवारीअनुसारको काम गरेको हुँ।
