काठमाडौं। रसुवाको टिमुरेस्थित भन्सार कार्यालयको यार्डमा राखिएका करिब दुई सय कन्टेनर भीषण बाढीले बगाएको नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ।
संघका सचिव आङदोर्जे शेर्पाका अनुसार भन्सार यार्डमा रहेका करिब दुई सय कन्टेनर बाढीमा बगेका हुन्। यसबाहेक चीनतर्फ सामान लिन जाँदै गरेका करिब तीन सय कन्टेनरसमेत बाढीको चपेटामा परेका छन्।
‘करिब १० प्रतिशत कन्टेनर मात्रै बाँकी रहेको हुन सक्छ। टिमुरेमा रहेका मेरा भाइहरूले गाउँ नै बगेको जानकारी दिएका छन्,’ शेर्पाले भने, ‘कन्टेनरहरू लस्करै थिए। चीनतर्फ जाने बाटोको नक्सा नै छैन।’
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि हेलिकप्टर पुगेको र घाइतेमध्ये ७–८ जनालाई उद्धार गरी काठमाडौं पठाइएको जानकारी आफूले पाएका छन्।
अहिले भन्सार कार्यालय रहेको टिमुरे क्षेत्रमा बाढीको बहाव केही घटेको र टेलिफोन सेवा पनि क्रमशः सञ्चालनमा आउन थालेको उनले बताए।
संघका अध्यक्ष रामहरि कार्कीले पनि बाढीमा सयौँ कन्टेनर र ठूलो संख्यामा मानिस प्रभावित भएको बताएका छन्। एक्कासि आएको बाढीका कारण टिमुरे क्षेत्रमा ठूलो जनधनको क्षति भएको उनको भनाइ छ।
बाढीबाट नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्गका रूपमा रहेको टिमुरे नाकाको पूर्वाधार र ढुवानी प्रणालीमा समेत ठूलो असर परेको प्रारम्भिक विवरणले देखाएको छ। क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ।
