काठमाडौं। तिब्बततर्फबाट रसुवा हुँदै आएको भीषण बाढीले त्रिशूली नदी तटीय क्षेत्रमा रहेका ३०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको प्रारम्भिक अनुमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गरेको छ।
बाढीबाट निर्माणाधीन तथा सञ्चालनमा रहेका दुवै प्रकृतिका जलविद्युत् आयोजना प्रभावित भएका छन्। प्रारम्भिक आकलनअनुसार प्रभावित आयोजनाका विद्युत्गृह, सबस्टेसनलगायत महत्वपूर्ण संरचनामा ठूलो क्षति पुगेको छ।
मन्त्रालयका अनुसार १११ मेगावाटको रसुवागढी, २२ मेगावाटको चिलिमे, ६० मेगावाटको त्रिशूली–३ ‘ए’, ३७ मेगावाटको त्रिशूली–३ ‘बी’, १४ मेगावाटको मैलुङ र ३५ मेगावाटको त्रिशूली–बेनीघाट जलविद्युत् आयोजना बाढीबाट प्रभावित भएका छन्।
यसैगरी, ५७ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र साञ्जेन जलविद्युत् आयोजनामा समेत बाढीले क्षति पुर्याएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार क्षतिको यकिन विवरण भने अझै प्राप्त भएको छैन। प्रभावित आयोजनामा कार्यरत कर्मचारीहरूको अवस्थाबारे समेत विवरण संकलन भइरहेको छ।
‘के–कति क्षति भएको हो भन्नेबारे आधिकारिक विवरण आएको छैन। त्यहाँ कार्यरत कर्मचारीहरूको विवरण संकलन गर्ने काम भइरहेको छ,’ मन्त्रालयले जनाएको छ।
बाढीका कारण आयोजनाका विद्युत्गृह, सबस्टेसन, पहुँचमार्ग तथा अन्य पूर्वाधारमा भएको क्षतिको विस्तृत विवरण स्थलगत पहुँच सहज भएपछि मात्र यकिन हुने मन्त्रालयले जनाएको छ।
