काठमाडौं। नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्र तथा आसपासका सेवाग्राहीका लागि दुई दिनसम्म निःशुल्क भ्वाइस कल, डाटा र एसएमएस सेवा उपलब्ध गराउने भएको छ।
टेलिकमका अनुसार प्रभावित क्षेत्रका सेवाग्राहीले दुई दिनसम्म निःशुल्क भ्वाइस कलसँगै प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस प्राप्त गर्नेछन्।
बाढी प्रभावित क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गर्दै टेलिकमले एसएमएसमार्फत सचेतनामूलक सूचना प्रवाह गरिरहेको जनाएको छ। आवश्यक सूचना तथा सावधानीसम्बन्धी सन्देश प्रवाह गर्न सचेतनामूलक रिङब्याक टोनसमेत सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ।
बाढीका कारण रसुवामा दुई र नुवाकोटमा पाँच गरी प्रारम्भिक रूपमा सातवटा टावरमा क्षति पुगेको टेलिकमले जनाएको छ। गल्छीदेखि रसुवा बोर्डरसम्मको फाइबर लिंकमा समेत क्षति पुगेको छ।
क्षतिग्रस्त संरचनाको मर्मत तथा सञ्चार सेवा यथाशीघ्र नियमित गर्न नेपाल टेलिकमको प्राविधिक टोली निरन्तर परिचालन गरिएको कम्पनीले जनाएको छ।
