काठमाडौं: अमेरिकामा मध्यावधि निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इन्धन र मलको मूल्यवृद्धिबाट प्रभावित किसानका लागि १५ अर्ब डलरभन्दा बढीको राहत प्याकेज घोषणा गरेको छ।
अमेरिकी कृषि मन्त्रालयका अनुसार डिजेलको मूल्य बढेका कारण मारमा परेका किसानलाई ८ अर्ब डलर एकपटकका लागि भुक्तानी गरिनेछ। यसका अतिरिक्त पशुपालक तथा माछापालकका लागि ५ अर्ब डलरको ऋण प्रत्याभूति तथा मल उत्पादन, मासु प्रशोधन र विशेष बाली परियोजनाका लागि थप रकम विनियोजन गरिएको छ।
सन् २०२५ को बाली वर्षका लागि यसअघि १३ अर्ब ८० करोड डलर भुक्तानी गर्ने योजना तय गरिएको थियो। यद्यपि, कृषि व्यवस्थापन विशेषज्ञ ग्रेग इबेन्डहलले सरकारी सहयोगले तत्काल राहत दिए पनि उत्पादन लागत बढ्नुका दीर्घकालीन समस्या समाधान नहुने टिप्पणी गरेका छन्।
यस वर्ष मल र इन्धनको उच्च मूल्यवृद्धि तथा चीनसँगको व्यापार तनावका कारण अमेरिकी किसानको आम्दानीमा गिरावट आएको छ। एएएका अनुसार डिजेलको औसत मूल्य प्रतिग्यालन ६.३२ डलर पुगेको छ, जुन एक वर्षअघिको तुलनामा ७० प्रतिशत बढी हो। राजनीतिक विश्लेषकहरूका अनुसार ग्रामीण क्षेत्रका मतदाता ट्रम्पका मुख्य समर्थक भए पनि उनका केही नीतिप्रति सन्तुष्ट छैनन्।
सरकारी राहतले तत्काल केही सहयोग पुर्याए पनि जीवनयापनको खर्च र स्वास्थ्य सेवाजस्ता आधारभूत विषयमा मतदाताको चासो कायमै छ। मध्यावधि निर्वाचनको दुई दिनअघि राष्ट्रपति ट्रम्पले आयोवा र कन्सासको भ्रमण गरेका छन्।
