काठमाडौं। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाका हेलिकोप्टरमार्फत स्याफ्रुबेसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी हालसम्म १२ जनाको उद्धार गरिएको छ।
उद्धार कार्यमा नेपाली सेनाका चार र निजी हेलिकोप्टर कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर परिचालन भइरहेका छन्। प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।
यसैगरी, उद्धार गरिएका तथा प्रभावित नागरिकलाई नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
