काठमाडौं। चीनमा भएको अविरल वर्षापछि भोटोकोशीमा आएको भीषण बाढीले नेपालमा ठूलो जनधनको क्षति गरेको छ। मुख्य ऊर्जा हब मानिने रसुवा र नुवाकोट जिल्लाका १३ वटा प्रमुख जलविद्युत आयोजनाहरूमा व्यापक क्षति पुर्याएको छ।
जल तथा मौसम विज्ञान विभाग र नेपाल विद्युत् प्राधिकरण (नेविप्रा) तथा ऊर्जा प्रवर्द्धक कम्पनीहरूबाट प्राप्त प्रारम्भिक तथ्यांकअनुसार कुल ७४८.१२ मेगावाट क्षमताका आयोजनाहरू बाढीको प्रत्यक्ष चपेटामा परेका छन्। यसमध्ये सञ्चालनमा रहेका ८ वटा आयोजनाबाट उत्पादन भइरहेको ३५४.१ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडबाट विच्छेद भएको छ भने ३९४ मेगावाटका ५ निर्माणाधीन आयोजनाका सिभिल तथा हाइड्रोमेकानिकल संरचना क्षतिग्रस्त बनेका छन्।
बाढीसँगै नदीमा आएको अत्यधिक बालुवा, लेदो र जलमग्नताका कारण सञ्चालनमा रहेका आयोजनाहरू तत्काल बन्द गर्नुपरेको छ। रसुवा जिल्लामा निजी क्षेत्रबाट सञ्चालित १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सान्जेन खोला, २२ मेगावाटको चिलिमे र २० मेगावाटको लाङटाङ खोला गरी २३१ मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।
त्यसैगरी नुवाकोट जिल्लामा नेपाल विद्युत् प्राधिकरण मातहतका ४ सरकारी आयोजनाहरू–६० मेगावाटको माथिल्लो त्रिशूली–३ए, २४ मेगावाटको ऐतिहासिक त्रिशूली जलविद्युत, १४.१ मेगावाटको देवीघाट र २५ मेगावाटको नुवाकोट ग्रिड सोलार गरी कुल १२३.१ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ। विद्युत् उत्पादन एकैपटक ३५४ मेगावाटभन्दा बढी गुम्दा काठमाडौं उपत्यका र आसपासका औद्योगिक कोरिडोरमा विद्युत् व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ।
बाढीले निर्माणाधीन जलविद्युत आयोजनाहरूमा अझ बढी विध्वंश मच्चाएको छ। रसुवामा निर्माण भइरहेको २१६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको निजी आयोजना ‘माथिल्लो त्रिशूली–१को पहुँचमार्ग, एडिफ टनेल र साइट क्याम्पमा ठूलो क्षति पुगेको छ।
यसैगरी १२० मेगावाटको रसुवा–भोटेकोशी र ६.४२ मेगावाटको माथिल्लो मैलुङ–ए का बाँध र पेनस्टक संरचना बाढीले बगाएको छ। रसुवामा मात्रै निर्माणाधीन ३ वटा आयोजनाको ३४२।४२ मेगावाट क्षमता प्रभावित भएको छ। नुवाकोट तर्फ ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी (जनताको जलविद्युत कार्यक्रम) र १५.६ मेगावाटको मिडल त्रिशूली गंगा गरी ५२.६ मेगावाटका २ आयोजनामा बाढी पसेर सिभिल संरचना तथा निर्माण सामग्री नष्ट भएका छन्।
तथ्यांक विश्लेषण गर्दा बाढीको सर्वाधिक मार निजी ऊर्जा प्रवर्द्धकहरूमाथि परेको देखिन्छ। कुल १३ आयोजनामध्ये ९ वटा निजी क्षेत्रका प्रवर्द्धक कम्पनीहरूका रहेका छन्, जसको कुल क्षमता ६२५ मेगावाट (८३.५ प्रतिशत) रहेको छ । सरकारी स्वामित्व (नेपाल विद्युत् प्राधिकरण) अन्तर्गत नुवाकोटमा रहेका ४ वटा सञ्चालित आयोजनाहरूको १२३.१ मेगावाट (१६.५ प्रतिशत) क्षमता प्रभावित भएको छ। सरकारी तर्फ निर्माणाधीन कुनैपनि आयोजना यस क्षेत्रमा शून्य रहेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रारम्भिक अनुमानअनुसार निजी क्षेत्रका हाइड्रोपावरमा मात्र ५ अर्ब रुपैयाँभन्दा बढीको भौतिक नोक्सानी भएको जनाएको छ। त्रिशूली–काठमाडौं प्रशारण लाइन तथा स्याफ्रुबेँसी–रसुवागढी जोड्ने पासाङ ल्हामु राजमार्ग दर्जनौँ ठाउँमा पहिरोले अवरुद्ध भएकाले आयोजना स्थलसम्म प्राविधिक टोली र हेभी उपकरण पुर्याउन कठिन भएको छ।
लाङटाङ खोला आयोजनाको २ वटा ट्रान्समिसन टावर ढलेका छन् भने माथिल्लो त्रिशूली–३ए को स्विचयार्ड नजिकैको डाँडो भासिएकाले तत्काल रोकथामको काम थालिएको छ। नेपाल विद्युत् प्राधिकरणकाअनुसार पहिरो सफा गर्ने र नदीको सतह घट्ने बित्तिकै आकस्मिक मर्मत गरी १ देखि ३ हप्ताभित्र सञ्चालनमा रहेका आयोजनाहरूबाट क्रमशः बिजुली उत्पादन सुरु गरिनेछ।
