काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चालित जलविद्युत कम्पनीहरूको शेयरमा तीव्र बिक्री दबाब बढेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ३५.९२ अंकले घटेर २,५५८.३५ विन्दुमा झरेको छ।
बाढी प्रभावित क्षेत्रका जलविद्युत कम्पनीको शेयरमा गिरावट उच्च देखिएको छ। रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर मूल्य १५ प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ। त्यस्तै, मोलुङ खोला हाइड्रोपावर १४.९९ प्रतिशत, त्रिशूली हाइड्रोपावर १२.९५ प्रतिशत, मध्य मेवा खोला हाइड्रोपावर ११.५६ प्रतिशत र सान्जेन हाइड्रोपावर कम्पनीको शेयर मूल्य ११.१८ प्रतिशतले घटेको छ।
समग्र बजारमा गिरावट आए पनि बुधबार कारोबार रकम भने बढेको छ। बुधबार ४ अर्ब ७७ करोड ३० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ, जुन मंगलबारको ४ अर्ब १० करोड ९० लाख रुपैयाँको कारोबारको तुलनामा बढी हो।
यसैबीच, समग्र बजारको गिरावटविपरीत सर्वोत्तम पेन्ट्सको शेयर मूल्य भने बढेर सकारात्मक सर्किट लागेको छ।
