काठमाडौं: न्युजिल्यान्डको खुद्रा बिक्री परिमाणमा सन् २०२६ को सेप्टेम्बरमा समाप्त त्रैमासिक अवधिमा २.२ प्रतिशतको वृद्धि भएको छ। सरकारी तथ्याङ्कअनुसार सन् २०२१ को डिसेम्बरयता यो सबैभन्दा उच्च त्रैमासिक वृद्धि हो।
राष्ट्रिय तथ्याङ्क निकाय स्ट्याट्स एनजेडका अनुसार इन्धन, औषधि तथा अन्य खुद्रा पसल र मोटरगाडी तथा पार्टपुर्जाको बिक्रीमा उल्लेख्य सुधार देखिएको छ। मापन गरिएका १५ मध्ये ११ वटा खुद्रा व्यापार क्षेत्रमा अघिल्लो जुन त्रैमासिकको तुलनामा बिक्री बढेको छ। तथ्याङ्कअनुसार इन्धन बिक्रीमा ९.५ प्रतिशत, औषधि तथा अन्य पसलमा आधारित व्यापारमा ६.४ प्रतिशत र मोटरगाडी तथा पार्टपुर्जाको बिक्रीमा ३.८ प्रतिशतको वृद्धि भएको छ। मौसमी प्रभाव समायोजनपछिको तथ्याङ्कले न्युजिल्यान्डका सबै १६ क्षेत्रमा खुद्रा बिक्रीको मूल्य बढेको देखाएको छ।
रिटेल एनजेडकी प्रमुख कार्यकारी अधिकृत क्यारोलिन योङले जीवनयापनको बढ्दो लागतका बाबजुद उपभोक्ताहरूले किनमेल जारी राखेको बताइन्। उनले इन्धन तथा ऊर्जाको उच्च मूल्यका कारण घरपरिवारको बजेट र व्यवसायको सञ्चालन खर्चमा दबाब परेको उल्लेख गरिन्। उनले भनिन्, ‘इन्धन तथा ऊर्जाको उच्च मूल्यले घरपरिवारको बजेटमा दबाब सिर्जना गर्नुका साथै व्यवसायको सञ्चालन खर्चसमेत बढाएकाले न्युजिल्यान्डवासी र व्यवसायीका लागि वर्ष कठिन रहेको छ।’
ब्ल्याक फ्राइडे बिक्री अभियान सुरु भइसकेको र उपभोक्ताहरू क्रिसमसको तयारीमा जुटेकाले आगामी चाडपर्वको समयमा व्यापार थप बढ्ने अपेक्षा व्यवसायीहरूले गरेका छन्।
