काठमाडौँ: नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा आयोजित नेपाल-जापान फेस्टिभल २०२६ मा एमएडब्लु राइड्सले यामाहा एक्सएसआर १५५ को नयाँ खरानी-हरियो मेटालिक कलर भेरियन्ट सार्वजनिक गरेको छ।
काठमाडौँको दरबारमार्गमा आयोजित उक्त कार्यक्रममा सार्वजनिक गरिएको नयाँ भेरियन्टको मूल्य रु ५,६४,९०० तोकिएको छ। कम्पनीका अनुसार यो मूल्य यसअघि उपलब्ध ब्ल्याक भेरियन्टको मूल्य बराबर नै हो। यामाहा एक्सएसआर १५५ अब बजारमा खरानी-हरियो मेटालिक, कालो, नीलो, रातो र खरानी गरी पाँचवटा रङमा उपलब्ध भएको छ। यसले ग्राहकहरूलाई आफ्नो रुचि र व्यक्तित्वअनुसार छनोट गर्ने थप अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।
कार्यक्रममा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले नेपाल र जापानबिचको ७० वर्ष लामो मित्रता तथा सहकार्यको महत्त्वबारे चर्चा गरेका थिए। उनले सन् १९५५ मा स्थापना भएको यामाहा मोटरको ७१ वर्ष लामो यात्रालाई पनि स्मरण गरे। नेपाल र जापानबिचको लामो मित्रता र यामाहाको जापानी विरासतलाई एकै थलोमा जोड्ने उद्देश्यले यो सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो।
