काठमाडौं। युरोपेली संघ (ईयू) ले नेपालमा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावितलाई सहयोग गर्न २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ ।
ईयूका अनुसार आपत्कालीन सहायता बाढी प्रभावितको तत्कालीन आवश्यकता पूरा गर्न खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाइ तथा आश्रयको व्यवस्थामा प्रयोग हुनेछ । ईयूको सहयोगमा काम गरिरहेका साझेदार संस्थाले विपद्पछि प्रभावित क्षेत्रमा तत्कालै राहत तथा उद्धारसम्बन्धी काम सुरु गरिसकेका छन् ।
यो सहायता यसै वर्षको सुरुवातमा नेपालका लागि विपद् पूर्वतयारीमा छुट्याइएको करिब ३० लाख युरो मानवीय सहयोगभन्दा अतिरिक्त हो । ईयूका साझेदार संस्थाले पहिले नै भण्डारण गरिएका अस्थायी आवास सामग्री तथा राहत सामग्री परिचालन गरी प्रभावित समुदायलाई सहयोग उपलब्ध गराइरहेका छन् ।
ईयूले आफ्नो प्रतिक्रिया समन्वय गर्न एसियाका लागि र्यापिड रेस्पोन्स कोअर्डिनेटर समेत नेपाल पठाउने जनाएको छ ।
स्थानीय तहबाट भइरहेको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन ईयूले कोपरनिकस स्याटेलाइट सेवा पनि सक्रिय गरेको छ । उक्त सेवामार्फत बाढी प्रभावित क्षेत्रको नक्सा तयार गरी उद्धार तथा राहत व्यवस्थापनमा सहयोग पुर्याइनेछ ।
ईयूकी तयारी तथा संकट व्यवस्थापन आयुक्त हद्जा लाहबिबले बाढीले यसअघि नै विभिन्न विपद्बाट प्रभावित हुँदै पुनर्निर्माणमा रहेका नेपाली समुदायलाई थप ठूलो क्षति पुर्याएको बताइन् ।
“सडक बगेका छन्, गाउँहरू सम्पर्कविहीन भएका छन् र परिवारहरू आफ्ना बेपत्ता आफन्तको खोजीमा छन् । नेपालका बाढीले विगतका विपद्बाट पुनःस्थापित हुँदै गरेका समुदायलाई तहसनहस बनाएको छ,” लाहबिबले भनिन्, “ईयू उनीहरूको साथमा छ । तत्काल स्वास्थ्य सेवा, खाद्यान्न, पानी र आश्रयका लागि २० लाख युरो उपलब्ध गराउँदैछ ।”
यसैबीच, युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डर लेयेनले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत बाढीबाट प्रभावितप्रति ऐक्यबद्धता व्यक्त गरेकी छन् ।
“विनाशकारी आकस्मिक बाढीबाट प्रभावित सबैप्रति मेरो गहिरो सहानुभूति छ,” उनले लेखेकी छन्, “सबैभन्दा बढी प्रभावित परिवार र समुदायलाई जीवनरक्षक सहायता पुर्याउन युरोपले नेपालका लागि तत्काल २० लाख युरो मानवीय सहायता उपलब्ध गराउँदैछ । युरोप तपाईंहरूको साथमा छ ।”
