पर्सा। सखुवाप्रसौनी गाउँपालिकाले बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि रु पाँच लाख आर्थिक सहयोग गर्ने भएको छ ।
पर्सास्थित सो गाउँपालिकाले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका उक्त रकम सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले जानकारी दिए ।
उनले भने, “देशमा अहिले प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको छ, विपद्को समयमा एकले अर्कालाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको हो, त्यसैले हामीले अहिलेलाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरेका छौँ ।”
बाढी प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनामा केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने उनले बताए । उनले विपद्को समयमा आफूले सक्ने सहयोग गर्न पनि सबैलाई अनुरोध गरे ।
