काठमाडौं । त्रिशूली नदीमा आइतबार बिहान एकाएक उर्लिएको बाढीले गोरखा र धादिङ जोड्ने चरौंदीको झोलुङ्गे पुल बगाएको छ।
नदीमा पानीको सतह बढ्दै गएपछि चरौंदीस्थित पुलमाथि जोखिम बढेको थियो। अन्ततः बाढीको तीव्र वेग थेग्न नसकेपछि पुल चुँडिएको हो। यससँगै गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिकाबीचको आवागमन प्रभावित भएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहान आएको ठूलो बाढीले चरौंदीको झोलुङ्गे पुलमा क्षति पुर्याएको हो। बाढीले पुलको संरचना नै बगाएपछि स्थानीयका लागि नदी वारपार गर्ने महत्वपूर्ण बाटो अवरुद्ध भएको छ।
चरौंदीमा मात्रै होइन, त्रिशूलीको यही उग्र बहावले धादिङको धवादीस्थित अर्को झोलुङ्गे पुललाई समेत क्षति पुर्याएको छ। लगातार बढेको नदीको बहावका कारण पुलहरू जोखिममा परेका हुन्।
गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीका अनुसार बाढीको तीव्रता यति धेरै थियो कि झोलुङ्गे पुल नै बगाउने अवस्था सिर्जना भयो। त्रिशूलीको बाढीले पुलमा क्षति पुर्याएसँगै नदी किनारका बस्ती र स्थानीय पूर्वाधारमाथि समेत जोखिम बढेको छ।
