काठमाडौं। विपद्का कारण बन्द भएका एनसेलका २७ मोबाइल साइटमध्ये २४ वटा पुनः सञ्चालनमा आएका छन्। नुवाकोट, रसुवा र धादिङमा रहेका कुल ७८ साइटमध्ये हाल ७५ वटा सञ्चालनमा रहेको एनसेलले जनाएको छ।
अझै तीनवटा साइट सञ्चालनमा आउन बाँकी छन्। नुवाकोट र रसुवाको रसुवागढीस्थित टिमुरेका दुई साइटमा पूर्वाधारमा क्षति पुगेको आशंका गरिएको छ। रसुवाकै अर्को एक साइटमा भने हवाई माध्यमबाट प्राविधिक टोली पुर्याउनुपर्ने भएकाले मर्मत कार्य हुन सकेको छैन।
नुवाकोटका प्रभावित १६ वटै साइट पुनः सञ्चालनमा आएका छन्। धादिङको गल्छीस्थित खल्टे, सुनौला बजार र भूमीडाँडाका टावर पनि सञ्चालनमा ल्याइएको छ।
त्यस्तै, रसुवाका कालिकास्थान, धुन्चे, खाल्चेत भञ्ज्याङ, गोल्जुङ र गतलाङका पाँचवटा टावर पुनः सञ्चालनमा आएका छन्।
मोबाइल साइटहरू पुनः सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा सहज हुनुका साथै उद्धार तथा राहत वितरणमा समन्वय गर्न र आफन्तसँग सम्पर्क कायम गर्न सहयोग पुगेको एनसेलले जनाएको छ।
