काठमाडौं। भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता तथा मृत्यु भएका व्यक्तिको पहिचानका लागि चीनले नेपालमा डीएनए विशेषज्ञसहित आधुनिक उपकरण पठाउने भएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालमा जारी खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन विशेषज्ञ टोली पठाउन लागिएको जानकारी दिएका हुन्।
बाढीपछि फेला परेका केही शव लामो समय पानीमा रहँदा क्षतविक्षत भएकाले परम्परागत विधिबाट पहिचान गर्न कठिन भइरहेको छ। यस्तो अवस्थामा डीएनए परीक्षणमार्फत मृतक तथा बेपत्ताको पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
चीनले डीएनए परीक्षणका लागि आवश्यक आधुनिक प्रविधि तथा उपकरणसहित विशेषज्ञ टोली पठाउने तयारी गरेको छ। खोज तथा उद्धार कार्यका लागि ड्रोन र बाढी प्रभावित क्षेत्रमा प्रयोग हुने पानी शुद्धीकरण उपकरणसमेत उपलब्ध गराउने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
बाढीमा ठूलो मानवीय क्षति भएपछि बेपत्ताको खोजी तथा फेला परेका शवको पहिचान नेपाली अधिकारीका लागि प्रमुख चुनौती बनेको छ। चीनबाट आउने विशेषज्ञ टोली र उपकरणले खोज, उद्धार तथा शव पहिचान कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
