काठमाडौं। त्रिशूली नदीमा आएको बाढी र कटानका कारण पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक खण्डका तीन विभिन्न स्थानमा सडक भासिएको छ। नदीको बहावले राजमार्गको फेदमा निरन्तर कटान गरिरहेकाले सवारी आवागमन जटिल बनेको छ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर शचेन्द्र मिश्रका अनुसार मुग्लिनबाट २३ किलोमिटर काठमाडौंतर्फ पर्ने कृष्णभीरमा सडकमा सबैभन्दा बढी क्षति पुगेको छ। कृष्णभीरमा झण्डै २०० मिटर सडक भासिएको छ भने सडकमाथिको डाँडासमेत चिरिएको छ। नदी किनारमा लगाइएको रिटेनिङ वाललाई गेग्रानसहितको बाढीले बगाएकाले सडकको तल्लो संरचना क्षति भएको छ।
यसैगरी, मलेखुबाट तीन किलोमिटर मुग्लिनतर्फ पर्ने सीतल बजारमा पनि करिब ५० मिटर सडक भासिएको छ। यस्तै, मलेखु पुलबाट एक किलोमिटर काठमाडौंतर्फ परेवाभीरमा १०० मिटर सडकको छेउ भासिएर कालोपत्रेसम्म झरेको छ। परेवाभीरमा थप क्षति र दुर्घटनाको जोखिम उच्च रहेकाले अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
सो खण्डकी प्रमुख डिभिजनल इन्जिनियर सजना अधिकारीले यस वर्ष त्रिशूली नदीले आफ्नो धार परिवर्तन गरी राजमार्गको फेदमै कटान केन्द्रित गरेको जानकारी दिइन्। नदीको सतह घटबढ भइरहँदा कमजोर भूभागमा कटान तीव्र भएको छ।
कृष्णभीरको सडक तत्काल मर्मत सम्भार गरी सञ्चालन गर्न सकिने अवस्था नभएकाले गोरखातर्फबाट वैकल्पिक सडक सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ। यस्तै, सीतल बजार र परेवाभीरमा भने डाँडाको भित्तो काटेर र बिजुलीका पोलहरू सारेर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको आयोजनाका पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरले बताएका छन्। काठमाडौं उपत्यकाको लाइफलाइनका रूपमा रहेको यस राजमार्गमा दैनिक करिब १४ हजार सवारी साधन सञ्चालन हुने गर्छन्।
