काठमाडौँ- भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको प्रारम्भिक बीमा दाबी २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणमा भदौ १५ गतेसम्म प्राप्त विवरणअनुसार बाढीबाट ५८३ वटा बीमालेख प्रभावित भएका छन्।
प्रारम्भिक दाबीको सबैभन्दा ठूलो हिस्सा इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमामा परेको छ। यो शीर्षकमा ५२ वटा बीमालेखबाट मात्रै २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँ दाबी परेको छ। अर्थात् कुल प्रारम्भिक दाबीको करिब ८० प्रतिशत यही क्षेत्रमा केन्द्रित छ। यसले बाढीले जलविद्युत्, निर्माण तथा ठूला पूर्वाधारमा पुर्याएको क्षतिको आकार देखाउँछ।
बीमा कम्पनीतर्फ सानिमा जीआईसी इन्स्योरेन्समा १०२ बीमालेखबाट २ अर्ब १० करोड २८ लाख ७२ हजार रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ६७ बीमालेखबाट १ अर्ब ८८ करोड ७३ लाख ७६ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।
संख्याका आधारमा भने शिखर इन्स्योरेन्समा सबैभन्दा धेरै १२७ बीमालेखबाट दाबी परेको छ। ती बीमालेखबाट कम्पनीमा १ अर्ब ८७ करोड ५४ लाख ५९ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको प्राधिकरणको तथ्यांक छ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्समा ४५ बीमालेखबाट ६४ करोड ७८ लाख २० हजार, नेको इन्स्योरेन्समा ६६ बीमालेखबाट ५१ करोड ७० लाख ३७ हजार, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा ३२ बीमालेखबाट २४ करोड २३ लाख २७ हजार र नेपाल इन्स्योरेन्समा ३२ बीमालेखबाट २३ करोड ८६ लाख ४५ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा २६ बीमालेखबाट १८ करोड ७३ लाख ४ हजार, एनएलजी इन्स्योरेन्समा २१ बीमालेखबाट ११ करोड ३१ लाख, प्रभु इन्स्योरेन्समा १४ बीमालेखबाट ३ करोड १२ लाख, राष्ट्रिय बीमा कम्पनीमा दुई बीमालेखबाट ७६ लाख र नेशनल इन्स्योरेन्समा दुई बीमालेखबाट ५३ लाख ३५ हजार रुपैयाँ बराबरको दाबी परेको छ। नेपाल माइक्रो इन्स्योरेन्समा एउटा बीमालेखबाट ५ लाख रुपैयाँको प्रारम्भिक दाबी परेको छ।
मोटर बीमामा सबैभन्दा धेरै बीमालेख प्रभावित
बीमाको प्रकारअनुसार मोटर बीमामा सबैभन्दा धेरै ३१३ वटा बीमालेख प्रभावित भएका छन्। तीबाट १ अर्ब ५५ करोड ९ लाख ३९ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।
सम्पत्ति बीमातर्फ ११३ बीमालेखबाट २ अर्ब ३४ करोड ६२ लाख २० हजार रुपैयाँ, परिवहन बीमातर्फ ४७ बीमालेखबाट ८९ करोड ७७ लाख ३७ हजार रुपैयाँ र अन्य बीमा शीर्षकमा ५४ बीमालेखबाट ५२ करोड ९२ लाख ९२ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको प्राधिकरणले जनाएको छ।
तर यो रकम अन्तिम होइन। प्राधिकरणमा प्राप्त विवरण प्रारम्भिक दाबीमा आधारित भएकाले क्षतिको स्थलगत मूल्यांकन, प्राविधिक परीक्षण र दाबी फर्छ्योटको प्रक्रियापछि वास्तविक क्षति तथा बीमा कम्पनीहरूले भुक्तानी गर्ने रकममा उल्लेख्य परिवर्तन हुन सक्छ।
