मोरङ। रसुवाको भोटेकोशी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि मोरङ जिल्लाका विभिन्न उद्योगी, व्यवसायी, सामाजिक सङ्घसंस्था तथा व्यक्तिगत दाताहरूबाट ९८ लाख ६४ हजार रुपैयाँभन्दा बढी सङ्कलन भएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना जारी गर्दै हालसम्म प्राप्त भएको सहयोगको आधिकारिक विवरण सार्वजनिक गरेको हो। कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने १६ वटा विभिन्न संस्था तथा व्यक्तिहरूबाट कुल ९८ लाख ६४ हजार ७ सय ३५ रुपैयाँ सङ्कलन भएको छ।
सार्वजनिक विवरण अनुसार राहत कोषमा सबैभन्दा बढी योगदान मोरङ उद्योग व्यापार सङ्घले गरेको छ। उक्त सङ्घले ३१ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ। त्यसैगरी, न्युरो अस्पताल विराटनगरले २१ लाख १११ रुपैयाँ र शिक्षादीप कला विराटनगरले १२ लाख ५१ हजार रुपैयाँ योगदान गरेका छन्।
यस्तै, नेपाल उद्योग वाणिज्य सङ्घ (कोशी प्रदेश) बाट ११ लाख रुपैयाँ र अरिहन्त ग्रुप विराटनगर-९ बाट १० लाख ११ हजार रुपैयाँ प्राप्त भएको छ। आकृति एड्भर्टाइजिङले ५ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ भने विराट व्यापार सङ्घले १ लाख ३१ हजार रुपैयाँ र नेपाल औषधि व्यवसायी सङ्घले १ लाख ३१ हजार १११ रुपैयाँ प्रदान गरेका छन्।
अन्य सहयोगी संस्थाहरूमा मोरङ जिल्ला बार एसोसिएसनले १ लाख १ हजार १११ रुपैयाँ, स्वास्तिक फ्लोर मिल्सले १ लाख १ हजार रुपैयाँ र फुजिमा आयल कम्पनीले १ लाख रुपैयाँ योगदान गरेका छन्। यसका साथै प्रविण प्लास्टिक प्याकेजिङ, गीता मन्दिर कार्यसमिति र परोपकार अभियान समूहले जनही ५१ हजार रुपैयाँका दरले सहयोग हस्तान्तरण गरेका छन्। यस्तै फोटोग्राफर सङ्घले २५ हजार २५१ रुपैयाँ र व्यक्तिगत तर्फबाट सीताराम उपाध्याय काफ्लेले ५ हजार १५१ रुपैयाँ सहयोग गरेका छन्।
विपद्को यस कठिन परिस्थितिमा स्वेच्छाले राहत कोषमा योगदान पुर्याउने सम्पूर्ण दाताहरूप्रति जिल्ला प्रशासन कार्यालय मोरङले आभार व्यक्त गरेको छ। कोषमा जम्मा भएको यो रकमले बाढी पीडितको उद्धार, राहत र पुनःस्थापना कार्यमा ठूलो सहयोग पुग्ने विश्वास प्रशासनले लिएको छ।
