काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहत वितरणलाई सहज बनाउन सार्वजनिक बिदाका दिनमा समेत अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बुधबार जारी गरेको सूचनामार्फत ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो।
राष्ट्र बैंकका अनुसार रसुवालगायतका जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावितलाई राहत वितरण तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले २०८३ भदौ १९ गतेदेखि भदौ २१ गतेसम्म लगातार परेको सार्वजनिक बिदाका दिनमा समेत अत्यावश्यक बैंकिङ सेवा सुचारु राख्नुपर्नेछ।
बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक सेवा सञ्चालनको व्यवस्था गरी त्यसबारे सम्बन्धित सरोकारवालालाई उपयुक्त माध्यमबाट जानकारी गराउनसमेत राष्ट्र बैंकले भनेको छ।
विपद्को समयमा राहत रकमको भुक्तानी, रकम स्थानान्तरणलगायत अत्यावश्यक वित्तीय कारोबारमा समस्या नहोस् भन्ने उद्देश्यले सार्वजनिक बिदामा पनि बैंकिङ सेवा उपलब्ध गराउने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
