काठमाडौं – रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ। सांसद श्रीराम न्यौपानेका अनुसार सञ्जय साहको जीवितै उद्धार गरिएको हो ।
यसअघि आज बिहान खोज तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत प्राप्त भएको थियो। नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले सुरुङभित्र मानिसको आवाज सुनिएको जानकारी दिएका थिए।
सुरुङभित्र फसेका अन्य व्यक्तिको खोजी तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको टोली परिचालित छ। उद्धार टोलीले सुरुङभित्र थप खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।
एक जनाको जीवितै उद्धार भएपछि सुरुङभित्र फसेका अन्य व्यक्तिको समेत सकुशल उद्धार हुने आशा बढेको छ।
