काठमाडौं – माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ।
सुरुङबाट कविर महर्जनको समेत उद्धार गरिएको हो। यसअघि सञ्जय साहको उद्धार गरिएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदसमेत रहेका इन्जिनियर श्रीराम न्यौपानेले सुरुङभित्र फसेका दुवै जनाको सकुशल उद्धार गरिएको जानकारी दिएका छन्।
उद्धार गरिएका सञ्जय साह मेकानिकल फोरम्यान र कविर महर्जन मेकानिकल सुपरभाइजर रहेको बताइएको छ।
उद्धार गरिएका दुवै जनालाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ। सुरुङभित्र अझै अन्य व्यक्ति फसेको हुनसक्ने भन्दै नेपाली सेना, सशस्त्र प्रहरी र प्राविधिक टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका छन्।
