बुटवल। बुटवलको तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माणका लागि १ अर्ब ७० करोड ५४ लाखमा ठेक्का सम्झौता भएको छ।
पूर्वपश्चिम राजमार्गको बुटवल–गोरूसिंगे सडक खण्डअन्तर्गत बुटवलको तिनाउ नदीमाथि सिग्नेचर ब्रिज निर्माणका लागि चिनियाँ निर्माण कम्पनी एम एस आनहुई सिनजियान होल्डिङ ग्रुप कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता भएको हो।
सडक विभागको विकास सहायता कार्यान्वयन महाशाखाका अनुसार पुलको डिजाइनसमेत निर्माण कम्पनीले नै गर्ने गरी भ्याट र पिसिएससहित १ अर्ब ७० करोड ५४ लाख २९ हजार ५९२ रूपैयाँमा निर्माण गर्ने गरी गत बिहीबार ठेक्का सम्झौता गरिएको हो।
ठेक्का सम्झौता अनुसार निर्माण कम्पनीले अबको तीन वर्षमा पुल निर्माणको काम पूरा गर्नुपर्ने महाशाखाका प्रमुख तथा परियोजना निर्देशक उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले जानकारी दिए।
सम्झौताअनुसार पुल निर्माण भएको पाँच वर्षपछिसम्मको मर्मतसम्भारको कामसमेत निर्माण कम्पनीले गर्नुपर्ने छ। हाल पुल भएकै स्थानको छेउमा नयाँ पुल बन्ने छ भने हाल रहेको पुलको दुवैतर्फ दुई/दुई लेनको नयाँ पुल, पैदल यात्रु मार्ग र कुल ९८० मिटर न्यूनतम पहुँच मार्ग निर्माण गरिनेछ।
यसअघि सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमै नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरु गर्ने भन्दै बजेटको व्यवस्था गरेको थियो।
सोही अनुसार नारायणी नदीमा पुल निर्माण सुरू भइसकेको छ भने तिनाउ नदीको पुलका लागि गत मंसिर अन्तिम साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो।
बोलपत्रमा छ वटा चिनियाँ कम्पनी सहभागी भएकोमा दुई कम्पनीले भने नेपाली निर्माण व्यवसायीसँग संयुक्त रूपमा प्रस्ताव पेस गरेका थिए।
जसमा प्राविधिक र आर्थिक प्रस्तावलाई छुट्टाछुट्टै मूल्यांकन गरी दुवैको प्राप्तांकका आधारमा एम एस आनहुई सिनजियान होल्डिङ ग्रुप कम्पनी लिमिटेड छनोट भएको हो। सडक विभागले करिब दुई अर्ब रूपैयाँ लागत अनुमानसहित ठेक्का आह्वान गरेको थियो।
हाल प्रयोगमा रहेको पक्की पुललाई यथावत् राख्दै त्यसको उत्तर र दक्षिणतर्फ थप दुई–दुई लेनमा निर्माण गरिने पुलको लम्बाइ २३० देखि २४० मिटरसम्म हुनेछ।
