ताप्लेजुङ। ताप्लेजुङमा पशुजन्य उत्पादनको अवस्थामा मिश्रित नतिजा देखिएको छ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका अनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा आव २०८२/८३ मा दूध र ऊनको उत्पादन बढेको छ भने मासु र अण्डाको उत्पादनमा गिरावट आएको छ।
केन्द्रका प्रमुख डाक्टर रोशन दाहालका अनुसार दूधको उत्पादनमा ०.५५ प्रतिशत र ऊनको उत्पादनमा १२.०७ प्रतिशतले वृद्धि भएको हो। तथ्यांकअनुसार आव २०८१/८२ मा ७ हजार ४६ मेट्रिकटन रहेको दूधको उत्पादन आव २०८२/८३ मा ७ हजार ८५ मेट्रिकटन पुगेको छ। त्यस्तै, ऊनको उत्पादन ३ हजार ५ सय ६८ किलोग्रामबाट बढेर ३ हजार ९ सय ९९ किलोग्राम पुगेको छ।
यता, मासु र अण्डाको उत्पादनमा भने कमी आएको छ। आव २०८१/८२ मा २ हजार ४ सय ५८ मेट्रिकटन रहेको मासु उत्पादन आव २०८२/८३ मा २ हजार ३ सय ७ मेट्रिकटनमा सीमित भएको छ, जुन ६।१४ प्रतिशतको गिरावट हो। सबैभन्दा बढी गिरावट अण्डाको उत्पादनमा देखिएको छ। आव २०८१/८२ मा २६ लाख ६ हजार वटा रहेको अण्डाको उत्पादन आव २०८२/८३ मा ३७.०६ प्रतिशतले घटेर १६ लाख ४० हजार वटामा झरेको छ।
