म्याग्दी। म्याग्दीको बेनी नगरपालिका-१ स्थित भुवानेमा रमेश रावलको परिवारले बाँझो जग्गा सदुपयोग गर्दै कृषि र होटल व्यवसाय सुरु गरेपछि सो क्षेत्रको चहलपहल बढेको छ। एक दशकअघिसम्म झाडीले ढाकिएको र बाँदरको समस्याका कारण खेती गर्न छाडिएको पुर्ख्यौली जग्गामा अहिले रावल परिवारले कृषि फार्म र होटल सञ्चालनमा ल्याएका छन्।
तनहुँमा १२ वर्ष होटल व्यवसाय गरेका रमेश कोभिड-१९ महामारीका कारण २०७७ सालमा गाउँ फर्किएका थिए। उनले सडक छेउको आफ्नो १४ रोपनी जग्गामा कटेज शैलीको होटल र कृषि फार्म स्थापना गरेका हुन्। होटलमा एकपटकमा २५ जनासम्म पाहुना बस्न सक्ने क्षमता छ। रावलले भने, ूपहिले खेती हुने जमिन हो। बाँदरको समस्या बढेपछि खेती गर्न छाडियो र विस्तारै झाडीले ढाक्यो। गाउँ फर्किएपछि यही जमिनलाई उपयोग गरेर केही गर्नुपर्छ भन्ने सोच आयो। त्यसपछि होटल र कृषि फार्म सुरु गरेका हौँ।ू
होटलमा आफ्नै फार्ममा उत्पादित कुखुरा, खसीको मासु, भैँसीको दूध र ताजा तरकारीलाई प्राथमिकता दिने गरिएको छ। रमेशका छोरा सुलभले काठमाडौँमा उच्च शिक्षा हासिल गरेपछि गाउँमै फर्केर व्यवसायमा साथ दिएका छन्। सुलभले फार्मलाई एग्रो टुरिजमको अवधारणाअनुसार व्यवस्थित गर्दै लैजाने योजना रहेको बताए। उनले भने, ‘कृषि उत्पादनमात्रै गर्नेभन्दा त्यसलाई पर्यटनसँग जोड्न सकियो भने थप सम्भावना हुन्छ।’
भुवानेमा रावलको होटलसँगै हरि खत्रीले सञ्चालन गरेको चिता हाउस पनि छ। यस क्षेत्रमा धवलागिरि हिमालको दृश्य, कालीगण्डकी नदी र नजिकैको झोलुङ्गे पुलले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। स्थानीय अगुवा ओम रोकाले रावल परिवारको प्रयासले बाँझो जमिनलाई उत्पादनसँग जोड्दै स्थानीयस्तरमा रोजगारी सिर्जना गरेको बताए। हाल होटल र कृषि फार्ममा आठ जनाले रोजगारी पाएका छन्।
