काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। तीनवटै वित्तीय संस्थाका प्रतिनिधिहरूले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
बैंकका अनुसार वित्तीय क्षेत्रको सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि, व्यवसायको विस्तार र ग्राहकलाई थप प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले यो प्राप्ति प्रक्रिया अघि बढाइएको हो। प्रारम्भिक सम्झौता अनुसार अब प्रस्तावित प्राप्ति सम्बन्धी विस्तृत अध्ययन, मूल्याङ्कन, सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण र शेयर आदान-प्रदान सम्बन्धी व्यवस्था लगायतका आवश्यक प्रक्रियाहरू अघि बढाइनेछ।
यो प्रस्तावित प्राप्ति प्रक्रिया नेपाल राष्ट्र बैंकको स्वीकृति तथा प्रचलित कानून बमोजिमका नियामकीय प्रक्रियाहरू पूरा भएपछि मात्र अन्तिम रूपमा कार्यान्वयनमा आउनेछ। तीनवटै संस्थाले यो प्रक्रियालाई पारदर्शी, व्यवस्थित र कानूनी व्यवस्था अनुरूप अघि बढाउँदै सम्बन्धित सरोकारवालाहरूको हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
