काठमाडाैं । युरोपमा नेपाली व्यवसायीहरूद्वारा सञ्चालित ट्रिप इन होटल समूहले भोटेकोसी बाढीपीडितहरूको उद्धार र राहतका लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ। समूहको कल्याणकारी संस्था हेल्पिङ ह्यान्ड्सले सोमबार सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
विपद्को घडीमा सरकारलाई सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको समूहका सञ्चालक जीवा लामिछानेले जानकारी दिए। लामिछानेले भने, देशले यतिखेर ठूलो विपत्तिको सामना गर्नुपरेको छ। यस्तो कठिन घडीमा उद्धार र राहतको काम प्रभावकारी रूपमा सम्पन्न गर्न सरकारलाई सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य हो।
लामिछानेले विपद्को समयमा सबैले आ-आफ्नो क्षमता अनुसार योगदान गर्नुपर्नेमा जोड दिए। उनले भने, रकम ठूलो वा सानो हुन सक्छ तर यतिखेर देशले भावनात्मक र मनोवैज्ञानिक ऐक्यबद्धता पनि खोजेको छ।
