काठमाडौं। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले भौतिक पूर्वाधारसँगै नेपाल-चीन व्यापारको मेरुदण्ड मानिने चालक तथा सहचालकको जनशक्तिमा ठूलो क्षति पुर्याएको छ। नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुनबहादुर सापकोटाका अनुसार बाढीमा ५०० भन्दा बढी ट्रक तथा कन्टेनर बेपत्ता भएका छन् भने प्रारम्भिक विवरणअनुसार ६०० भन्दा बढी चालक र सहचालक सम्पर्कविहीन रहेका छन्।
बाढीका कारण रसुवागढी-केरुङ नाका अवरुद्ध भएपछि व्यवसायीहरूले मुस्ताङको कोरला नाकाबाट सामान ढुवानी सुरु गरेका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार केरुङमा रोकिएका १७६ मालवाहक सवारीमध्ये केही सवारी कोरला नाका हुँदै ल्याउन थालिएको छ। यद्यपि, पर्याप्त चालकको अभावमा ढुवानी क्षमता घट्ने, लागत बढ्ने र सामान काठमाडौँ आइपुग्न लामो समय लाग्ने जोखिम बढेको छ।
ढुवानी भाडामा समेत अस्वाभाविक वृद्धि भएको छ। विगतमा १ देखि २ लाख रुपैयाँ पर्ने भाडा अहिले साढे ४ लाख रुपैयाँसम्म पुगेको व्यवसायीहरू बताउँछन्। ढुवानी लागत र समय बढ्दा चीनबाट आयात हुने वस्तुको मूल्यमा २० देखि २५ प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको छ।
यसको असर विद्युतीय सवारी (ईभी) आयातमा पनि परेको छ। नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका कार्यकारी सदस्य अनुपकुमार बरालका अनुसार रसुवागढी नाकाबाट मात्रै पछिल्लो दशकमा १४ हजार ५०० भन्दा बढी ईभी भित्रिएका थिए। हाल ७०० भन्दा बढी नयाँ ईभी बाढीमा बगेका छन् भने चालकको अभावले गर्दा नयाँ सवारीसाधन काठमाडौँ पुर्याउने समय दुई दिनबाट बढेर १५ देखि २० दिनसम्म पुग्ने देखिएको छ। यसले ईभीको आपूर्ति चक्रलाई सुस्त बनाउने र आयातकर्ताको सञ्चालन लागत बढाउने चिन्ता व्यवसायीमा छ।
