काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजारको विकास र सुधारका लागि आवश्यक कानुनी उपायहरू पेस गर्न निर्देशन दिएका छन्।
सोमबार अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैङ्क र नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीहरूसँगको छलफलमा उहाँले यस्तो निर्देशन दिए।
बैठकमा नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेल, धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्ट, राष्ट्र बैङ्कका डेपुटी गभर्नर किरण पण्डित र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेलको उपस्थिति थियो।
पछिल्लो समय नेप्से परिसूचक २५ सयको हाराहारीमा रहे पनि कारोबार रकम भने कमजोर देखिएको छ। विगत छ महिनामा नेप्से करिब चार सय अङ्कले घटेको छ भने बजार पुँजीकरणमा सात खर्ब रुपियाँको गिरावट आएको छ।
लगानीकर्ताको मनोबल खस्किएको र आर्थिक गतिविधि सुस्ताएको अवस्थामा अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा सेयर बजार सुधार योजना तयार गरिरहेको छ।
यस योजनामा बजारलाई कृत्रिम रूपमा उचाल्ने भन्दा पनि आधार बलियो बनाउने, नियमनलाई पारदर्शी बनाउने र लगानीकर्ताको हित संरक्षण गर्ने विषयलाई प्राथमिकता दिइने मन्त्रालयले जनाएको छ।
बजारमा सुधारको प्रयास भइरहे पनि लगानीकर्ताहरूलाई कम्पनीको वित्तीय अवस्था, मूल्य र जोखिमको विश्लेषण गरेर मात्र लगानी रणनीति बनाउन विज्ञहरूले सुझाव दिएका छन्।
नेपाल धितोपत्र बोर्डले पनि नेप्से, सिडिएससी र ब्रोकरहरूलाई बजारलाई प्रविधिमैत्री र सुरक्षित बनाउन विभिन्न निर्देशन दिइसकेको छ।
