पोखरा। पोखरा उद्योग वाणिज्य संघले आफ्नो ७२ वर्षे इतिहासमा पहिलो पटक महिला अध्यक्ष पाएको छ। सोमबार साँझ सम्पन्न संघको ३६ औं महाधिवेशनबाट निवर्तमान महासचिव शोभा गौतम अध्यक्षमा निर्वाचित भएकी हुन्।
गौतमले ३ जना पुरुष प्रतिस्पर्धीलाई पछि पार्दै विजय हासिल गरिन्। कुल २ हजार २ सय ७९ मत खसेको निर्वाचनमा गौतमले ७ सय ५१ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिस्पर्धी अर्जुन पोखरेलले ६ सय ३७, उत्तममान बुद्धाचार्यले ६ सय १ र बलराम आचार्यले २ सय ५३ मत प्राप्त गरे। निर्वाचन समितिले १२ मत बदर भएको जनाएको छ।
त्यसैगरी, संघको वरिष्ठ उपाध्यक्षमा दीनेशचन्द्र बास्तोला निर्वाचित भएका छन्। उनले १ हजार ४ सय ८१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी टिकाराम सुवेदीले ७ सय ६० मत पाए।
उपाध्यक्ष (उद्योग)मा सौगात थापाले १ हजार २ सय ७१ मत ल्याएर विजयी भए, उनका प्रतिस्पर्धी ललितबहादुर कुँवरले ९ सय ७३ मत प्राप्त गरे। उपाध्यक्ष (वाणिज्य)मा मनोजकुमार श्रेष्ठ १ हजार ६५ मतसहित निर्वाचित भए, उनले भीम गौतमलाई १ सय ४६ मतान्तरले पराजित गरे।
महासचिवमा सुदीप प्रधानाङ्ग १ हजार २ सय २ मत प्राप्त गर्दै विजयी भए। उनका प्रतिस्पर्धी तारानाथ ढुंगानाले १ हजार ४२ मत ल्याए। कोषाध्यक्षमा देवेन्द्र प्रजु १ हजार ४ सय ३९ मतसहित विजयी हुँदा जीवनप्रकाश श्रेष्ठले ७ सय ७५ मत पाए। उप-महासचिवमा प्रदीप राजभण्डारी १ हजार १ सय ५३ मत ल्याएर विजयी भए।
खुल्ला १० सदस्यतर्फ दुर्गा बराल, अमृत पोखरेल, निर्मला चापागाईं, गोविन्दबहादुर केसी, रामेश्वर अधिकारी, मनोहरी पौडेल, भानुभक्त अधिकारी, दीलिपकुमार श्रेष्ठ, रामप्रसाद कँडेल र कमलबहादुर सुनार विजयी भएका छन्। यसअघि वस्तुगततर्फका चार सदस्य र उद्योग सदस्य एक जना निर्विरोध निर्वाचित भइसकेका छन्।
