काठमाडौं। पृथ्वी राजमार्गको कृष्णभीरमा खसेको पहिरोका कारण सडक सञ्जाल विच्छेद हुँदा पोखराको पर्यटन क्षेत्र प्रभावित बनेको छ। सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि आन्तरिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिए पनि सडक अवरोधले गर्दा पर्यटकीय गतिविधि सुनसान बनेको व्यवसायीहरूले बताएका छन्।
होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुलीका अनुसार पोखरा आउने आन्तरिक पर्यटकको करिब ७० प्रतिशत हिस्सा काठमाडौंबाट आउने गर्दछ। सडक अवरुद्ध भएपछि निजी तथा सार्वजनिक सवारी साधनमार्फत आउने पर्यटकको संख्या शून्यमा झरेको छ। उनले भने, ‘कृष्णभीरको पहिरो अहिले आन्तरिक पाहुनाका लागि तगारो नै बन्यो। यो महिनामा सातैपिच्छे कम्तीमा तीन दिन सार्वजनिक बिदा परे, तर बिदाको सदुपयोग आन्तरिक पाहुनाले गर्न पाएनन्।’
पराजुलीका अनुसार हवाई यात्रा सबैको पहुँचमा नहुने र महँगो पर्ने भएकाले अधिकांश पर्यटक सडकमार्ग प्रयोग गर्छन्। सडक अवरोधका कारण साताको अन्त्यमा पोखरा घुम्न आउने र बैठक वा भेला गर्ने समूहको आगमन पनि रोकिएको छ। अर्का पर्यटन व्यवसायी नरेश भट्टराईले पनि सडक सञ्जाल विच्छेद हुँदा होटेलको अकुपेन्सी दर निकै घटेको बताए। उनले भने, ‘सबै पर्यटक बजेट अनुसार यात्रा गर्छन्। अब राजमार्ग सहज भएर ठूला आकारका सार्वजनिक बस सञ्चालन भएपछि मात्र आन्तरिक पाहुना आउँछन्।’
होटल संघ गण्डकीका अध्यक्ष हरि शर्माले विदेशी पर्यटकको आगमन रोकिएको अवस्थामा आन्तरिक पर्यटकले राहत दिने अपेक्षा गरिए पनि सडक समस्याले त्यो सम्भावना पनि टरेको उल्लेख गरे। पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको हिस्सा पछिल्लो समय ४० प्रतिशतसम्म पुगेको व्यवसायीहरूको भनाइ छ।
