काठमाडौँ। भोटेकोशी बाढीबाट विस्थापित महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहत सामग्री वितरण गरेको छ। सङ्घले नुवाकोट, धादिङ र काठमाडौँका विभिन्न आश्रयस्थलमा पुगेर प्रभावितहरूलाई अत्यावश्यक सामग्री उपलब्ध गराएको हो।
रसुवाबाट विस्थापित भई काठमाडौँको स्वयम्भूस्थित मुस्ताङ गुम्बा र गोशोक गुम्बामा आश्रय लिइरहेका करिब २०० महिला तथा बालबालिकालाई न्यानो कपडा, व्यक्तिगत सरसफाइका सामग्री र महिनावारी स्वच्छता सामग्री वितरण गरिएको छ।
नेपाल महिला सङ्घकी अध्यक्ष मीनाकुमारी खरेलले प्राकृतिक विपत्तिमा परेका महिला र बालबालिकाको स्वास्थ्य, सुरक्षा र आत्मसम्मानको संरक्षणमा सङ्घले प्राथमिकता दिएको बताइन्। यसअघि सङ्घको टोलीले नुवाकोट र धादिङका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुगेर पनि राहत वितरण गरेको थियो।
राहत वितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य मोहन आचार्य, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू प्रतिमा गौतम, कुसुम थापा र पूर्व सांसद सपना राजभण्डारीको उपस्थिति थियो। सङ्घले आगामी दिनमा पनि विपद्पीडितहरूको पुनर्स्थापनाका लागि सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।
