काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांश पारित गर्न २०औं वार्षिक साधारणसभा बोलाएको छ ।
बैंकले असोज १६ गते शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा साधारणसभा आयोजना गर्ने भएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । नगद लाभांशमा कर प्रयोजनार्थ रकमसमेत समावेश छ ।
त्यस्तै, सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावमाथि पनि निर्णय गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज ५ गते बुक क्लोज गर्ने जनाएको छ । त्यसअनुसार असोज २ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीले साधारणसभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
