काठमाडौँ। यही भदौ २६ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘बेहुली’को अग्रिम टिकट बुकिङ सुरु भएको छ। दर्शकको उच्च उत्साहलाई मध्यनजर गर्दै देशभरका हलहरूमा फिल्मले १०० भन्दा बढी शो प्राप्त गरेको छ।
नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाज र दोस्रो ठूलो चेन आईएनआई सिनेमाजले फिल्मका लागि उल्लेख्य शोहरू उपलब्ध गराएका छन्। यसबाहेक फ्रेन्ड्स् सिनेमा र वन सिनेमा लगायतका देशभरका अन्य सिंगल तथा मल्टिप्लेक्स हलहरूमा पनि फिल्मको बुकिङ उत्साहजनक देखिएको छ। वितरक गोविन्द शाहीका अनुसार दर्शकको बढ्दो चापलाई हेर्दा प्रदर्शन मितिसम्ममा शो सङ्ख्या अझै वृद्धि हुने सम्भावना छ।
यस फिल्मको ट्रेलरले युट्युबमा २४ घण्टाभित्रै १० लाख भ्युज बटुल्दै नयाँ रेकर्ड कायम गरेको थियो। १८ घण्टामै नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको उक्त ट्रेलरले विदेशका विभिन्न मुलुकमा समेत चर्चा पाएको थियो। फिल्ममा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ र सन्तोष बानियाको मुख्य भूमिका रहेको छ। सशान कँडेलले निर्देशन गरेको यो फिल्ममा सरिता गिरी, विशाल पहारी र कर्मा लामाको पनि अभिनय छ। द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता अर्जुन पोखरेल र निर्माता प्रताप शमशेर राणा हुन्।
