दमौली। नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न क्षेत्रमा एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार गरेको छ। विद्युत् पहुँच विस्तारलाई प्राथमिकतामा राखेर दुर्गम र नयाँ बस्तीमा सेवा पुर्याइएको वितरण केन्द्रका इन्जिनियर डिलबहादुर आलेले जानकारी दिनुभयो। यससँगै वितरण केन्द्रअन्तर्गत कुल ग्राहक सङ्ख्या ८२ हजार २४९ पुगेको छ।
प्राधिकरणको तथ्याङ्कअनुसार दमौली कार्यालयमा २८ हजार ८२९, खैरेनीटारमा २७ हजार ४१७, डुम्रेमा १२ हजार १५६, आँबुखैरेनीमा पाँच हजार ९२०, थर्पुमा दुई हजार ६१५ र दुईपिप्लेमा पाँच हजार ३१२ ग्राहक रहेका छन्। तनहुँका १० वटै स्थानीय तहका साथै कास्की, लमजुङ र नवलपुरका केही भागमा समेत यस केन्द्रले सेवा प्रदान गर्दै आएको छ।
विद्युत् सेवा विस्तारले घरायसी प्रयोगका साथै कृषि, व्यवसाय र उत्पादनमूलक गतिविधिमा सहजता आउने अपेक्षा गरिएको छ। सो आर्थिक वर्षमा केन्द्रले ८७ करोड ७६ लाख १३ हजार ७८७ युनिट विद्युत् बिक्री गरेर रु एक अर्ब एक करोड ११ लाख १२ हजार १२६ राजस्व सङ्कलन गरेको छ। हाल केन्द्रसँग छ वटा सबस्टेशन, ३० वटा ११ केभी फिडर र ६७३ वटा ट्रान्सफर्मर रहेका छन्। केन्द्रले ११/०.४ केभी लाइन विस्तार, मर्मत तथा सुदृढीकरणका कामलाई निरन्तरता दिँदै आएको छ।
