कास्की। सेती नदीको बाढीबाट प्रभावित कास्कीको माछापुच्छे गाउँपालिका-२ सार्दिखोलाका बासिन्दाले भोटेकोशी बाढीपीडितका लागि रु सात लाख ९३ हजार ७७५ सहयोग गरेका छन्।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि वडा कार्यालयको पहलमा सो रकम सङ्कलन गरिएको हो। सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
सार्दिखोलाका बासिन्दाले विसं २०६९ वैशाख २३ गते सेती नदीमा आएको विनाशकारी बाढीको पीडा भोगेका थिए। अन्नपूर्ण चौथो हिमालबाट खसेको हिमपहिरोका कारण आएको बाढीले खारपानी बजारलाई बगरमा परिणत गर्दा ७० जनाभन्दा बढीले ज्यान गुमाएका थिए।
त्यसबेलाको पीडालाई स्मरण गर्दै स्थानीयवासीले मानवीय भावनाका साथ भोटेकोशी पीडितलाई सहयोग गरेका हुन्।
वडाध्यक्ष गणेश आचार्यका अनुसार राहत सङ्कलन अभियानमा १७ वटा टोल विकास समिति, आमा समूह, चेलीबेटी समूह र स्थानीय नागरिकको सहभागिता थियो।
आचार्यले भने, ‘हामीले बाढीको पीडा आफ्नै आँखाले देखेका र भोगेका छौँ। त्यसैले भोटेकोशीसहित विभिन्न जिल्लामा विपद्मा परेका नागरिकको पीडा र दुःख यहाँका नागरिकले बुझेका छन्।’
सङ्कलित रकम सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द आचार्य र कोषाध्यक्ष विपुल शर्मामार्फत कोषमा पठाइएको हो।
सहकारीका प्रमुख कार्यकारी अधिकृत आचार्यले भौगोलिक दूरी टाढा भए पनि विपद्को पीडा समान रहेको बताए। उनले भने, ‘यो सहयोग अहिलेको विपद्का लागि मात्र होइन, समुदायले विपद्का बेला कसरी एकअर्काको साथमा उभिनुपर्छ भन्ने सन्देशसमेत हो।’ वडा कार्यालयले राहत अभियानमा सहयोग गर्नेहरूको विवरण अभिलेखमा राख्ने जनाएको छ।
