काठमाडौं। भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवाका १३ वटा खानेपानी तथा सरसफाइ आयोजनामा ठूलो क्षति पुर्याएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीका कारण ती आयोजनाहरूमा २५ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। यसबाट एक हजार ६२३ जना स्थानीय बासिन्दा खानेपानीको सुविधाबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार गोसाइँकुण्ड र उत्तरगया गाउँपालिकाका खानेपानी आयोजनाहरू बढी प्रभावित भएका छन्। बाढीले अधिकांश आयोजनाहरू पूर्ण रूपमा ध्वस्त पारेको छ भने केही स्थानमा मुख्य पाइपलाइन, शाखा पाइपलाइन र धाराहरू बगाएको छ।
गोसाइँकुण्ड गाउँपालिकाको वडा नं १, २ र ५ मा रहेका आयोजनाहरू पूर्ण रूपमा क्षति हुँदा ९०० भन्दा बढी नागरिक खानेपानी सेवाबाट वञ्चित भएका छन्। त्यस्तै उत्तरगया गाउँपालिकाको वडा नं ३ र ४ मा सञ्चालित आयोजनाहरूमा पनि बाढीले ठूलो क्षति पुर्याएको विभागले जनाएको छ। कैदलटार, सिम्ले मुहान र बाँसथलसिम लगायतका क्षेत्रमा पाइपलाइन र धाराहरूमा क्षति पुगेको छ। महानिर्देशक श्रेष्ठले क्षतिग्रस्त आयोजनाहरूको पुनर्निर्माण गरी खानेपानी सेवा पुनः सञ्चालन गर्ने प्रक्रिया अघि बढाइने बताएका छन्।
