काठमाडौं। रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको पहिलो वर्षमै ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले करसहित ३० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
हाल १ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले सोही दरमा ५७ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ ।
उक्त निर्णय आगामी असोज २२ गते आयोजना हुने साधारणसभाबाट अनुमोदन भएपछि मात्र कार्यान्वयनमा आउनेछ । कम्पनीले साधारणसभाका लागि काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा स्थान तोकेको छ ।
लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।
असोज १३ गतेसम्म शेयर खरिद गरी नामसारी गराएका शेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन पाउने कम्पनीले जनाएको छ । सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण पनि पारित गरेको छ ।
बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको रिलायन्स स्पिनिङ मिल्स मुलुकको ठूलो निर्यातमूलक र रोजगारदाता कम्पनी मानिन्छ । सुनसरीको खनार र दुहबीमा धागो कारखाना सञ्चालन गरिरहेको कम्पनीमा करिब ४ हजार कामदार कार्यरत छन् ।
कम्पनीले वार्षिक ५० मिलियन अमेरिकी डलर बराबरको धागो निर्यात गर्दै आएको छ । कम्पनीका उत्पादनहरू नेपालसहित भारत र टर्की लगायतका देशमा बिक्री हुने गरेका छन् ।
