काठमाडौं। सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले पाउने नाफामा लाग्ने अग्रिम पुँजीगत लाभकरको दर घटाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरूको सेयर बिक्रीबाट हुने लाभमा लाग्ने करको दर हेरफेर गरिएको जानकारी दिएका छन्।
अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले प्राकृतिक व्यक्ति अर्थात् व्यक्तिगत लगानीकर्ताका लागि करको दर परिमार्जन गरेको हो। नयाँ व्यवस्थाअनुसार ३६५ दिनभन्दा बढी स्वामित्वमा रहेको सेयर बिक्री गर्दा हुने नाफामा लाग्ने पुँजीगत लाभकर ७.५ प्रतिशतबाट घटाएर ३.५ प्रतिशत कायम गरिएको छ।
त्यसैगरी, ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको सेयर बिक्री गर्दा हुने नाफामा लाग्ने लाभकर १० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिएको छ। यो नयाँ कर व्यवस्था नेपाल धितोपत्र बोर्डमा सूचीकृत भई धितोपत्र विनिमय बजारमार्फत कारोबार गर्ने प्राकृतिक व्यक्तिको हकमा मात्र लागू हुनेछ। सरकारको यस निर्णयले पुँजी बजारमा लगानीकर्ताको मनोबल बढाउने र सेयर कारोबारमा थप सक्रियता ल्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
