मुगु। मुगुको पिना: कुटोला-घट्टलेख-मुन्दु निर्वाचन सडक आयोजना निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अलपत्र परेको छ।
सडक डिभिजन कार्यालय जुम्लाका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति १० प्रतिशत मात्र रहेको छ। यस अवधिमा करिब एक करोड दुई लाख रुपियाँ बराबरको मात्र काम भएको छ।
छायानाथ रारा नगरपालिकाका स्थानीयका अनुसार निर्माण कम्पनीले रारा राष्ट्रिय निकुञ्जको बहाना बनाउँदै काम अघि बढाएको छैन।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले सुरुमा आयोजनाको नाममा रारा र सल्लेरी जोडिएकाले निकुञ्ज क्षेत्रको विवाद देखिएको बताए। अहिले स्टिमेट संशोधन गरेर जिरो पोइन्ट पिनाबाट कायम गरिएको छ।
शेर्या कन्स्ट्रक्सन प्रालिले ३५ करोड ५५ लाख रुपियाँमा उक्त सडक निर्माणको ठेक्का पाएको हो। २०७९ साउन १८ गते भएको सम्झौताअनुसार काम २०८३ असार २७ गतेभित्र सम्पन्न हुनुपर्ने थियो।
म्यादमा काम नसकिएपछि सरकारको नियमअनुसार म्याद थप गरेर २०८४ असार मसान्तसम्म पुर्याइएको छ। करिब १० किलोमिटर लम्बाइको उक्त सडकमा ग्याबिन वाल र सिमेन्टेड वाललगायतका संरचना निर्माण गर्नुपर्नेछ।
सडक निर्माणमा भएको ढिलाइले स्थानीयलाई सास्ती भएको छ। छायानाथ रारा नगरपालिका-६ का स्थानीय पञ्चबहादुर ऐडीले सडक नबन्दा दैनिक उपभोग्य सामग्री ढुवानी र गाउँमा उत्पादित कृषि उपज बजारसम्म लैजान समस्या भएको बताए। बिरामीलाई अस्पताल लैजान पनि कठिनाइ भएको स्थानीयको गुनासो छ।
वडाध्यक्ष खेम रावलले निर्माणमा भएको सुस्तताका विषयमा पटक-पटक सडक डिभिजन कार्यालय र सम्बन्धित निकायलाई जानकारी गराए पनि सुनुवाइ नभएको बताए। उनले निर्माण कार्यमा संलग्न मजदुरले समेत पारिश्रमिक नपाएको गुनासो गरेका छन्।
