काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को टाइटल स्पोनसर सिद्धार्थ बैंकले एनपीएललाई लक्षित गर्दै नयाँ क्रेडिट कार्ड र बचत खाता योजना सार्वजनिक गरेको छ।
बैंकले नयाँ ग्राहकलाई आकर्षित गर्ने उद्देश्यले यी सुविधाहरु ल्याएको हो। बैंकका अनुसार सिद्धार्थ एनपीएल क्रेडिट कार्डका लागि असोज १, २०८३ देखि मंसिर २९, २०८३ भित्र आवेदन दिने ग्राहकले आजीवन निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन्। पहिलो वर्षको वार्षिक शुल्क पूर्ण रूपमा छुट हुनेछ भने दोस्रो वर्षदेखि अघिल्लो वर्षमा कम्तीमा तीनवटा कारोबार पूरा गरेमा मात्र वार्षिक शुल्क फिर्ता गरिने व्यवस्था छ। यो योग्यताको हरेक वर्ष मूल्यांकन गरिनेछ।
त्यसैगरी सिद्धार्थ एनपीएल बचत खाता खोल्ने ग्राहकले विशेष थिममा डिजाइन गरिएको डेबिट कार्ड र ५०० सिद्धार्थ रिवार्ड पोइन्ट प्राप्त गर्नेछन्। डेबिट कार्ड र सिद्धार्थ बैंक स्मार्ट एक्सपी दुवैको सदस्यता लिने ग्राहकले ५०० रुपैयाँ वार्षिक शुल्कमा बन्डल प्याकेजको सुविधा पाउनेछन्।
असोज १ देखि कार्तिक ३० सम्मको अभियान अवधिमा बचत खातावालाहरुका लागि विभिन्न थप सुविधाहरु पनि घोषणा गरिएको छ। सबैभन्दा बढी रिवार्ड पोइन्ट पाउने २० जनाले गिफ्ट ह्यामपर र सर्वाधिक पोइन्ट कमाउने एक जनाले बैंकको एनपीएल भिडियोमा फिचर हुने अवसर पाउनेछन्। यसैगरी रिवार्ड पोइन्ट रिडेम्पसन कारोबार गर्ने शीर्ष ५ जनाले एनपीएल खेलका दुई-दुई वटा टिकट जित्नेछन्।
अभियान अवधिमा उच्च रिवार्ड च्याम्पियन स्कोर हासिल गर्ने एक जना ग्राहकले सेमिफाइनल खेलमा ‘प्लेयर अफ द म्याच’ पुरस्कार प्रस्तुत गर्ने अवसर पाउनेछन्। यस योजनासम्बन्धी थप जानकारीका लागि बैंकको ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
