काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई युरोपेली संघको एसोसिएट सदस्य बनाउने कुनै पनि प्रस्ताव अघि बढेमा युरोपमाथि भारी कर लगाउने चेतावनी दिएका छन्।
बुधबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले क्यानडालाई ईयूको सदस्य बनाउने सम्भावनालाई हाँसो उठ्दो भन्दै टिप्पणी गरेका छन्।
क्यानडालाई एक भयानक व्यापार साझेदारको संज्ञा दिँदै ट्रम्पले यस कदमलाई शत्रुतापूर्ण कार्यको रूपमा व्याख्या गरेका छन्। ट्रम्पले भने, यदि यो राम्रो नियतले गरिएको हो भने, त्यो ठीक छ। यदि यो नराम्रो नियतले गरिएको हो भने, हामी युरोपमा धेरै भारी कर लगाउनेछौं। युरोपसँगको व्यापार बन्द गर्नेछु।
पछिल्लो समय अमेरिका र क्यानडाबीचको सम्बन्ध चिसिँदै गएको छ। लामो समयदेखि अमेरिकाको निकट साझेदार रहेको क्यानडाले हाल युरोपेली संघसँगको सम्बन्धलाई थप घनिष्ठ बनाउने प्रयास गरिरहेको छ।
क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले गत साता ब्रसेल्ससँग अद्वितीय गठबन्धन निर्माण गर्न चाहेको बताएका थिए। यता युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले युरोपेली संघले क्यानडाका लागि आफ्नो ढोका खुला राख्न चाहेको र विभिन्न प्रमुख क्षेत्रमा सहकार्य विस्तार गर्ने इच्छा व्यक्त गरेकी थिइन्। क्यानडा र ईयूबीचको बढ्दो निकटताले अमेरिका-युरोप व्यापार सम्बन्धमा थप तनाव सिर्जना हुने संकेत देखिएको छ।
