फुङ्लिङ। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा भदौ महिनामा १३ लाख ६७ हजार रुपियाँ भेटी सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको विवरणअनुसार एक महिनाको अवधिमा उक्त रकम सङ्कलन भएको हो।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार भदौ महिनामा छ हजार १२३ जना तीर्थयात्रीले मन्दिरको दर्शन गरेका छन्। समितिले मन्दिरमा दर्शनार्थीले चढाएको भेटी हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दै आएको छ। चालु आर्थिक वर्षको साउन महिनामा तीन लाख १८ हजार ५०० रुपियाँ भेटी सङ्कलन भएको थियो।
गत आर्थिक वर्षको भदौ महिनाको तुलनामा यस वर्ष तीर्थयात्रीको सङ्ख्या र भेटी दुवै बढेको छ। गत आर्थिक वर्षको भदौमा चार हजार ५०३ जना तीर्थयात्रीले दर्शन गर्दा नौ लाख ९७ हजार रुपियाँ भेटी सङ्कलन भएको थियो। पाथीभरा मन्दिरमा भेटीबाहेक दर्शनार्थीले शैक्षिक सामग्री, सुनचाँदी, त्रिशूल, घण्टी र सिक्कालगायतका सामग्रीसमेत चढाउने गरेका छन्। यस्ता सामग्री समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गरी सुरक्षित भण्डारण गर्ने गरेका छन्।
समितिको तथ्याङ्कअनुसार गत आर्थिक वर्षभरि पाथीभरामा दुई लाख ५२ हजार ७८ जना दर्शनार्थी पुगेका थिए। सो अवधिमा कुल चार करोड ८२ लाख तीन हजार ८५५ रुपियाँ भेटी सङ्कलन भएको थियो।
