काठमाडौं। उपभोक्ता अदालतले इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकलाई साढे दुई लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ। कम्पनीले एक उपभोक्ताको इन्टरनेट सेवा १५ दिनसम्म अवरुद्ध गरेपछि उक्त सजाय सुनाइएको हो।
बिहीबार गरिएको फैसलामा क्लासिक टेकले विभिन्न बहाना बनाउँदै सेवा अवरुद्ध गरेको उल्लेख छ। कम्पनीले कहिले फाइबर ब्रिकेज, कहिले पोल सार्नुपर्ने, त कहिले तारको उचाइ नमिल्ने जस्ता कारण देखाउँदै सेवाबाट वञ्चित गरेको अदालतले ठहर गरेको छ।
इन्टरनेट सेवा अवरुद्ध भएपछि उपभोक्ता शिव प्रकाशले अदालतमा मुद्दा दायर गरेका थिए। लामो समयसम्म सेवा नपाएपछि आफूले जिल्ला प्रशासन कार्यालय भक्तपुर, नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार मन्त्रालय र हेलो सरकार लगायतका निकायमा गुनासो गरेको भए पनि कतैबाट सुनुवाइ नभएपछि अदालत जानुपरेको उनले बताए।
उपभोक्ता अदालतका सूचना अधिकारी होमनाथ कँडेलका अनुसार फैसलाको पूर्णपाठ आउन अझै तीन देखि चार हप्ता लाग्नेछ। आफ्नो लडाइँ उपभोक्ताको अधिकार स्थापित गर्नका लागि भएको बताउँदै प्रकाशले यस्ता समस्या भोगिरहेका अन्य उपभोक्तालाई उपभोक्ता हित संरक्षण मञ्चमा सम्पर्क गर्न आग्रह गरेका छन्।
