चितवन: धादिङको कृष्णभिरमा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएसँगै चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा पर्यटकीय चहलपहल पुनः बढ्न थालेको छ। भदौ १४ गते त्रिशूली नदीको बाढीले सडक बगाएपछि काठमाडौँ र तराई जोड्ने स्थलमार्ग प्रभावित हुँदा सौराहा, मेघौली र पटिहानीलगायतका क्षेत्रको पर्यटन व्यवसाय सुस्ताएको थियो।
सडक अवरुद्ध हुँदा काठमाडौँबाट सौराहा आउने पर्यटकको संख्या ह्वात्तै घटेको थियो। क्षेत्रीय होटल संघ सौराहा च्याप्टरका अनुसार सडक बन्द हुनुअघि ७० प्रतिशत रहेको होटल बुकिङ २० प्रतिशतभन्दा तल झरेको थियो। यस अवधिमा सौराहामा तय भएका सभा, सम्मेलन र गोष्ठीहरू स्थगित वा रद्द गरिएका थिए।
क्षेत्रीय होटल संघ सौराहा च्याप्टरका महासचिव महेश खनालका अनुसार सडक सुचारु भएसँगै शुक्रबारदेखि होटलमा कार्यक्रमहरू पुनः आयोजना हुन थालेका छन्। उनले भने, “बाटो बन्द भएपछि साना-ठूला सबै कार्यक्रम रोकिएका थिए। अहिले बाटो खुलेर अवस्था सामान्य भएपछि पुनः कार्यक्रमका लागि बुकिङ हुन थालेको छ।” बिहीबारदेखि नै काठमाडौँ-सौराहा रुटमा दर्जनौँ पर्यटकीय बसहरू सञ्चालनमा आएका छन् भने निजी सवारीसाधनमा आउने पर्यटकको संख्या पनि बढेको छ।
होटल व्यवसायीहरूका अनुसार हवाई मार्ग महँगो हुनु र टिकटको अभावले गर्दा स्थलमार्गको अवरोधले पर्यटनमा ठूलो असर पारेको थियो। संघका पूर्वअध्यक्ष सुमन घिमिरेले हिमाली क्षेत्रमा पदयात्रा सकेर चितवन आउने विदेशी पर्यटकसमेत सडक अवरोधका कारण प्रभावित भएको बताए। उनले भने, “विपत्तिसँग लड्दै व्यवसाय टिकाउनुपर्ने अवस्था छ। अहिले अवस्था सुधार भएपछि पुराना कार्यक्रम धमाधम सञ्चालन गर्ने तयारी भइरहेको छ।” व्यवसायीहरूका अनुसार सडक सहज भएसँगै सौराहाको पर्यटकीय गतिविधि क्रमशः सामान्य बन्दै गएको छ।
