पोखरा। ग्रेट वाल मोटर (जीडब्ल्यूएम) को नेपालका लागि आधिकारिक डिलर रेज मोटर्स प्रालिले पोखराको उत्तमचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। शोरुमको उद्घाटनसँगै कम्पनीले ओरा ५ र हाभल जोलियन म्याक्स ईभी नेपाली बजारमा सार्वजनिक गरेको छ।
नयाँ शोरुमबाट ग्राहकले बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस सेवा एकै स्थानबाट प्राप्त गर्नेछन्। शोरुममा जीडब्ल्यूएमका विद्युतीय तथा प्रिमियम गाडीहरू प्रदर्शनीमा राखिने र आवश्यक प्राविधिक सेवाहरू उपलब्ध गराइने कम्पनीले जनाएको छ।
ओरा ५ मोडलमा ५८.३ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ, जसले डब्लूएलटीपी मापदण्डअनुसार ४३५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ। यसमा २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्ससहित विभिन्न सुरक्षा र प्रविधियुक्त सुविधाहरू रहेका छन्। त्यस्तै, हाभल जोलियन म्याक्स ईभीमा १५० किलोवाटको विद्युतीय मोटर र ५८.३ किलोवाट आवरको ब्याट्री छ, जसले ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ। यस गाडीमा पानोरामिक सनरुफ, १४.६ इन्चको इन्फोटेनमेन्ट प्रणाली, एडीएएस र भीटूएलजस्ता सुविधाहरू उपलब्ध छन्।
रेज मोटर्सका अध्यक्ष अशोक चालिसेले पोखरामा जीडब्ल्यूएम ब्रान्ड विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्दै बिक्रीपछिको गुणस्तरीय सेवामा जोड दिने बताए। भीजी इम्पेक्सका महाप्रबन्धक अधिरकुमार श्रेष्ठले पोखरालाई कम्पनीको विस्तारका लागि महत्त्वपूर्ण बजारका रूपमा लिइएको बताए। नयाँ शोरुम सञ्चालनमा आएसँगै यी गाडीहरूको बुकिङ तथा टेस्ट ड्राइभ खुला गरिएको कम्पनीले जानकारी दिएको छ।
