काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको वस्तु व्यापार घाटा २४.९ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा २.५ प्रतिशतले बढेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा कुल वस्तु निर्यात ६१.७ प्रतिशतले वृद्धि भई ३८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।
निर्यात वृद्धिमा भारततर्फ ७१.० प्रतिशत र चीनतर्फ २८७.८ प्रतिशतको योगदान रहेको छ। यस अवधिमा भटमासको तेल, पाम तेल, पोलिस्टर धागो, जुटका सामान र पार्टिकल बोर्डको निर्यात बढेको छ। यद्यपि, आयुर्वेदिक औषधि, जडीबुटी, प्रशोधित छाला र नेपाली कागजको निर्यातमा भने गिरावट आएको छ।
त्यस्तै, सोही अवधिमा वस्तु आयात ३१.० प्रतिशतले बढेर १ खर्ब ८७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। आयात बढ्नुमा पेट्रोलियम पदार्थ, रासायनिक मल, खाने तेल र कच्चा भटमासको तेलको भूमिका मुख्य रहेको छ। अर्कोतर्फ धान, चामल, सुन, अलकत्रा, कोइला तथा मेडिकल सामग्रीको आयातमा कमी देखिएको छ। समीक्षा अवधिमा निर्यात-आयात अनुपात २०.६ प्रतिशत कायम भएको छ।
